
माधव भुषाल पोखरा, कात्तिक १ । पोखराको औद्यौगीक क्षेत्रमा अवस्थित पोखरा नुडल्सले प्रा.लि. सय बढी अस्थायी मजदुरलाइ निकालेको छ । भारतको अघोषीत नाकाबन्दीको कारण उद्योग सञ्चालनमा समस्या आएको बहाना बनाउँदै अस्थाई कर्मचारीहरुलाई जानकारी नै नगराई निकालेको मजदुरहरुले गुनासो गरेका छन् ।
‘गत असोज १२ गते हामीलाइ पुनः काममा फर्काउँछौ भनेर काममा आउन दिईएन’ पोखरा नुडल्समा कार्यरत मजदुर संजिव अधिकारीले भने ‘केही दिन अगाडी मात्र सुचना टाँस गरेर नाकाबन्दीको बाहाना बनाएर हामीलाइ निकालियो ।’ चाडपर्व नजिकिदै गर्दा उद्योगको यस्तो कदमले आफुहरुको परिवारमा हातमुख जोर्न समस्या परेको उनको भनाई थियो ।
उनले दुखेसो पोख्दै भने ‘पहिले नै भनेको भए त हामीले चाडबाडको लागी केही जोरजाम गथ्र्यौ नि बरु । केही दिन पख्नुस हामी फेरी बोलाउँछौ भनेपछी हामी पनि ढुक्क भयौं, घरमा चुलो बल्न पनि मुस्किल छ अहिले । ’
सोही उद्योगमा ज्याला मजदुरी गरेर हातमुख जोर्दै आएका सय बढी मजदुरहरु चाडबाडको मुखमा आएर बिचल्लीमा परेको पिडित मजदुरको भनाइ छ ।
अब २४० दिन पुरा हुनै लाग्दा पुराना कर्मचारी निकालेर नयाँ कर्मचारी राख्न कम्पनीले बदमासी गरेको उनीहरुको आरोप छ ।
