
पोखरा । पोखरा-२, बाग्लुङ बसपार्कस्थित पोखराबेशी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड को ७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड ९६ लाख २२ हजार ५ सय ७५ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको जनाएको छ।
संस्थाका अनुसार सहकारीको शेयर पुँजी २ करोड ८९ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ भने ६ करोड ७० लाख ८५ हजार ९१ रुपैयाँ कर्जा लगानी गरिएको छ। वार्षिक साधारण सभामा अध्यक्ष नारायण पहारी ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं-६ का निर्वतमान वडाध्यक्ष तथा सल्लाहकार जगतबहादुर पहारी ले साधारण सभाको उद्घाटन गर्दै सहकारीले वित्तीय अनुशासन कायम गर्दै अघि बढिरहेको बताउँदै शेयर सदस्यलाई निःसंकोच कारोबार गर्न आग्रह गरे। उनले सेयर सदस्यहरूको सक्रिय सहकार्य नै सहकारीको मूल आधार भएको उल्लेख गरे।
सल्लाहकार तथा सेयर सदस्य गोविन्दराज पहारी ले सहकारीका गतिविधिमा सेयर सदस्य स्वयं चनाखो रहनुपर्नेमा जोड दिँदै आर्थिक पारदर्शिता र कानुनी अनुशासन अपरिहार्य रहेको बताए।
त्यसैगरी चेतना बचत तथा ऋण सहकारी संस्था बैदामका अध्यक्ष प्रशुराम पहारी ले सहकारीले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै सहकारी र सदस्यबीच नङ-मासुको सम्बन्ध कायम भए समस्या नआउने बताए।
शेयर सदस्य चुडामणि पहारी ले सहकारीलाई गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी बनाउने दिशामा योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिए।
साधारण सभाले अध्यक्ष नारायण पहारीद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, सचिव दुर्गादत्त अधिकारी को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सनोज पहारीको आर्थिक प्रतिवेदन तथा लेखा तथा सुपरीवेक्षण समितिका संयोजक प्रेमराज पहारी को प्रतिवेदन सुझावसहित पारित गरेको छ।
अध्यक्ष नारायण पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य रिता नापित ले स्वागत मन्तव्य र लिलावती अधिकारी कोइराला ले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन्।
सो अवसरमा असल बचतकर्ता कुसुमबहादुर शाही, असल कारोबारी विष्णु गौतम र उत्कृष्ट कर्मचारी प्रतिमा तामाङ लाई सम्मान गरिएको थियो।
त्यसैगरी सहकारीमा रिक्त रहेका पदहरूमा रिता नापितलाई उपाध्यक्ष, ममता पराजुलीलाई कार्यसमिति सदस्य तथा सुशीला पौडेल पहारी र तेजप्रसाद तिमिल्सिनालाई लेखा समिति सदस्य मा मनोनयन गरिएको निर्वाचन मण्डलका संयोजक कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन्।
