महेन्द्र माविमा सरसफाइ सामग्री हस्तान्तरण

Share:

पोखरा । तेन्जिङ आइन डोल्मा हेल्थ नेपालको सहयोगमा पोखरा-१९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालय लाई सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ। स्वाभिमान टोल विकास संस्था पोखरा-१६, कुरेचौर को समन्वयमा विद्यालयमा आयोजित सचेतनामूलक कार्यक्रममा उक्त सामग्री प्रदान गरिएको हो।

फोहोरमुक्त वातावरण अभियानका संयोजक श्यामसुन्दर आचार्य र सचिव बोधराज आचार्य ले १० थान डस्टबिन, प्यान, गार्बेज प्लास्टिक, कुचो–झाडु, ग्लोभ्स र मास्क लगायतका सरसफाइ सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेल लाई हस्तान्तरण गरेका हुन्।

सो अवसरमा अभियान संयोजक आचार्यले स्वस्थ विद्यालय वातावरण निर्माणका लागि प्रदूषणमुक्त समाज अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयबाटै सरसफाइ संस्कारको विकास गर्नुपर्नेमा जोड दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले वातावरणीय सुधारका क्षेत्रमा अभियानले खेलेको भूमिका सराहनीय र प्रेरणादायी रहेको बताए।

प्रधानाध्यापक पौडेलले विद्यालयले व्यक्तिगत तथा वातावरणीय सरसफाइसम्बन्धी चेतना कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिए। कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई प्लास्टिकजन्य फोहोरले वातावरण र मानव स्वास्थ्यमा पार्ने असर का विषयमा सचेतनामूलक सामग्री प्रस्तुत गरिएको थियो।

त्यस अवसरमा सहभागीहरूले विद्यालय परिसर तथा विद्यालयदेखि चोकसम्म जथाभावी फालिएका प्लास्टिकजन्य फोहोर संकलन गरी व्यवस्थापन समेत गरेका थिए।

तेन्जिङ आइन डोल्मा हेल्थ नेपालको सहयोगमा स्वाभिमान टोल विकास संस्थाले पछिल्ला केही महिनादेखि उक्त क्षेत्रमा प्लास्टिकजन्य फोहोरमुक्त वातावरण अभियान निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: