तापक्रम माइनस २० डिग्रीभन्दा पनि तल झरेपछि मुस्ताङमा विकास निर्माणका काम ठप्प

Share:

मुस्ताङ । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका सम्पूर्ण गतिविधि ठप्प भएका छन्। हिउँदयामको कठोर मौसमका कारण जिल्लाका पाँचवटै स्थानीय तहमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना, सडक, पुल तथा अन्य पूर्वाधार निर्माण कार्य पूर्णरूपमा प्रभावित भएका हुन्। उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक खण्डअन्तर्गतका सडक तथा पुल निर्माण योजना चिसोका कारण रोकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। उनका अनुसार पुसअगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डको काम स्थगित गरिएको हो। अत्यधिक चिसोका कारण निर्माणमा प्रयोग हुने उपकरणसमेत थन्किन पुगेका छन्।

चालु आर्थिक वर्षमा ठेक्का सम्झौता भएको कागबेनी–छुसाङ खण्डको ९.८ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति कार्य पनि रोकिएको छ। उक्त सडकका लागि आयोजनाले २८ करोड ८७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। यसैगरी, २०७५ सालमै ठेक्का लागेको कोरला नाका जोड्ने ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण अघि बढ्न सकेको छैन।

६ करोड ८० लाख लागतमा निर्माणाधीन उक्त पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको भए पनि एप्रोज रोड र फिनिसिङको काम बाँकी छ। अत्यधिक चिसोका कारण बाँकी काम रोकिएको आयोजना प्रमुख शर्माले बताए। उनका अनुसार चैत महिनापछि मात्रै यी पूर्वाधार निर्माण कार्य पुनः सञ्चालनमा आउनेछन्।

यसैगरी, थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोमसम्मको १७ किलोमिटर सडक खण्ड पनि चिसोका कारण अवरुद्ध भएको छ। विसं २०७३/७४ देखि निर्माण सुरु भएको उक्त सडकमा अझै पाँच किलोमिटर कालोपत्रे हुन बाँकी छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजनाको भनाइ छ।

थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला र कैकु खोला पुलको काम पनि चिसोले प्रभावित बनेको छ। यस्तै, मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयअन्तर्गत कार्यान्वयनमा रहेका १२ बहुवर्षीय र चालु वर्षका १३ नयाँ योजना पनि स्थगित भएका छन्।

पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीका अनुसार अधिकांश योजना चिसोका कारण रोकिएका छन्। केही योजना ठेक्का प्रक्रियामा रहेकाले र केही ठेक्का सम्झौता भइसके पनि हिउँदयामका कारण काम अघि बढाउन नसकिएको उनले बताए।

मुस्ताङमा खानेपानी, सिँचाइ, जलस्रोत, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), स्थानीय तह तथा विभिन्न सङ्घसंस्थामार्फत सञ्चालनमा रहेका दर्जनौँ पूर्वाधार योजना पनि प्रभावित भएका छन्। प्रत्येक स्थानीय तहमा ५० भन्दा बढी साना-ठूला विकास योजना रहे पनि सबैजसो योजना चिसोले ठप्प बनेका छन्।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले हरेक वर्ष हिउँदयाममा चिसो र सम्भावित हिमपातका कारण विकास निर्माण गर्न नसकिने अवस्था आउने बताए। “हिउँदयाममा यहाँका नागरिक जाडो छल्न बेँसी झर्छन्, चिसोमा काम गर्न निकै कठिन हुन्छ,” उनले भने, “वैशाखपछि मात्र विकास निर्माणले गति लिन्छ।”

हाल माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झरेको छ। अत्यधिक चिसोका कारण अधिकांश सरकारी कार्यालयका कर्मचारी जिल्ला छाडेर गएका छन्। यद्यपि, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी भने कार्यस्थलमै रहेर शान्ति-सुरक्षा कायम गरिरहेका छन्।

माथिल्लो मुस्ताङ मानविहीनजस्तै बनेको अवस्थामा पनि दुर्गममा खटिएका कर्मचारीहरू नागरिकका रित्तो घरगाउँ कुरेर बसेका छन्। कठोर चिसोबीच विकास निर्माण ठप्प हुँदा मुस्ताङको विकास फेरि मौसमकै भरमा सीमित बनेको छ।

कमेन्ट गर्नुहोस्
Share: