पोखरामा ‘उद्यम क्लिनिक’ सुरु, व्यवसायका समस्या अब उपचार गरिने

Share:

पोखरा । मानिस बिरामी परे उपचारका लागि अस्पताल लैजाने चलन छ । अब व्यवसाय र उद्योग बिरामी परे के गर्ने ? यही प्रश्नको उत्तर खोज्दै पोखरामा मंगलबारदेखि ‘उद्यम क्लिनिक’ को औपचारिक सुरुवात गरिएको छ ।

पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा सुरु गरिएको उद्यम क्लिनिकले व्यवसायमा देखिने अवरोध, समस्या तथा कमजोरीलाई ‘रोग’का रूपमा पहिचान गरी समाधान गर्ने उद्देश्य लिएको छ ।

क्लिनिक उद्घाटनसँगै न्यूरोड क्षेत्रका व्यवसायीहरूको प्रतिनिधित्व गर्दै केपी शर्मा पाध्याले व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीलाई व्यवसायसँग सम्बन्धित समस्याहरू समेटिएको फाइल हस्तान्तरण गरे ।

व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले केन्द्रले यसअघि पनि व्यवसायसँग सम्बन्धित विभिन्न समस्या समाधान गर्दै आएको भए पनि निजी क्षेत्रसँग अझ नजिक भएर प्रभावकारी सेवा दिन उद्यम क्लिनिक सुरु गरिएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधान गर्न र व्यावसायिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन संघकी महासचिव शोभा गौतमले गरेकी थिइन् ।

त्यस अवसरमा अभियानमा सहकार्य गरेको पोखरा रिसर्च सेन्टरका तर्फबाट सुजन रेग्मीले व्यवसाय प्रवद्र्धन केन्द्रले उपलब्ध गराउने सेवासम्बन्धी प्रस्तुति दिएका थिए । उद्यम क्लिनिकको सुरुवातसँगै पोखराका व्यवसायीहरूले आफ्ना समस्या समाधानका लागि एक प्रभावकारी ‘उपचार केन्द्र’ पाएको अपेक्षा गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: