
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत सभापतिसहित अधिकांश पदाधिकारी पदका लागि मंगलबार साँझसम्म कसैले पनि मनोनयन दर्ता गराएका छैनन् ।
निर्वाचन समितिका अनुसार मनोनयन दर्ताको समय मंगलबार साँझ साढे ७ बजेसम्म तोकिएको भए पनि उक्त समयसम्म सभापति, उपसभापति, महामन्त्रीलगायत पदमा उम्मेदवारी दर्ता नभएको हो ।
निर्वाचन समिति संयोजक सीताराम केसीले मनोनयन दर्ताको समय थप गर्ने वा नगर्ने विषयमा हालसम्म कुनै औपचारिक निर्णय नभएको जानकारी दिए ।
तर सहमहामन्त्री पदका लागि भने दुई जनाले मनोनयन दर्ता गराइसकेको निर्वाचन समितिले जनाएको छ ।
यसैबीच, महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन बन्दसत्रबाट पारित भएसँगै आजको बन्दसत्र औपचारिक रूपमा सम्पन्न भएको छ ।
महाधिवेशनमा शीर्ष नेतृत्वबारे सहमतिको प्रयास जारी रहँदा मनोनयन प्रक्रियामा ढिलाइ भएको अनुमान गरिएको छ ।
