गण्डकीमा क्रस भोटिङको शक्ति : पुराना दलबाट मत सरेर रास्वपातर्फ, एमाले-कांग्रेसलाई ठूलो झट्का

Share:

पोखरा । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक सरगर्मी तीव्र बनेको छ । फागुन २१ मा हुने निर्वाचनलाई यसपटक नयाँ बनाम पुरानो राजनीतिक धारको प्रतिस्पर्धाका रूपमा हेरिएको छ । जेनजी आन्दोलनको भावना बोकेका नयाँ तथा वैकल्पिक दलहरू मैदानमा उत्रँदै गर्दा परम्परागत दलहरूको आन्तरिक तयारी भने कमजोर देखिएको छ ।

यसपटकको निर्वाचनलाई विशेष बनाउने एउटा प्रमुख कारण भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पार्टीमा भित्र्याएपछि रास्वपाले आफूलाई वैकल्पिक मूलधारको शक्तिका रूपमा थप मजबुत बनाएको छ ।

उता, कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत पुराना दलहरू आन्तरिक तथा बाह्य गठबन्धनको गृहकार्यमा छन् । यद्यपि नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले वा कांग्रेससँग चुनावी गठबन्धन नहुने घोषणा गरिसकेका छन् । त्यस बाबजुद पुराना दलहरूभित्र गठबन्धनको प्रयास जारी नै छ ।

२०७९ को मत परिणामले देखाएको संकेत

नयाँ राजनीतिक समीकरणका कारण २०७९ को निर्वाचन परिणामकै आधारमा आगामी चुनावको ठ्याक्कै अनुमान गर्न नसकिए पनि, त्यतिबेलाको मतदाताको मनोविज्ञानले आगामी परिणामको दिशा भने संकेत गर्छ । विशेषगरी गण्डकी प्रदेशको समानुपातिक मत परिणामले मतदाताले कसरी ‘क्रस भोटिङ’ मार्फत नयाँ शक्तिको खोजी गरे भन्ने प्रष्ट देखिन्छ ।

२०७९ मा गण्डकी प्रदेशसभाको समानुपातिकतर्फ ३१ दल र प्रतिनिधिसभातर्फ ४७ दल सहभागी थिए । तर प्रतिनिधिसभामा सहभागी ४७ दलमध्ये ११ वटा दलले १०० मतसमेत कटाउन सकेनन् । ३२ वटा दलको मत १ हजारभन्दा कम थियो । यसले मतदाताले धेरै दललाई छाने पनि अन्ततः मत केन्द्रित गरेको शक्ति स्पष्ट देखिन्छ । प्रदेशसभामा रास्वपा सहभागी नहुँदा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पाएको मत प्रतिनिधिसभामा भारी मात्रामा घटेको देखिन्छ ।

एमाले-कांग्रेसलाई ठूलो झट्का

प्रदेशसभामा ३ लाख ६७ हजार ९८९ मत पाएको एमालेले प्रतिनिधिसभामा ४३ हजारभन्दा बढी मत गुमायो । कांग्रेसले पनि प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा ३६ हजारभन्दा बढी मत घटायो ।

प्रदेशसभामा बलियो देखिएको राप्रपाले प्रतिनिधिसभामा २० हजारभन्दा बढी मत गुमायो । हाम्रो नेपाली पार्टी, एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति र अन्य साना दलहरूका मतदाता पनि संघीय चुनावमा ठूलो संख्यामा अर्कै दलतर्फ सरेका छन् ।

विशेषगरी हाम्रो नेपाली पार्टीले प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा करिब ७५ प्रतिशत मत गुमाएको देखिन्छ ।

मत कहाँ गयो ?

विश्लेषणले देखाउँछ, प्रदेशमा अन्य दललाई भोट दिएका मतदाताले संघीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका थिए । गण्डकी प्रदेशबाट रास्वपाले प्रतिनिधिसभातर्फ १ लाख ७७ हजार २५ मत पाएको थियो ।

यसले गण्डकीका मतदाता परिवर्तन चाहन्छन् भन्ने सन्देश मात्र दिएको छैन, आगामी निर्वाचनमा पनि नयाँ शक्तितर्फ ठूलो मत स्थानान्तरण हुने संकेत दिएको छ ।

आगामी चुनावमा पुराना दलहरूले जनमत पुनः तान्न सक्छन् कि सक्दैनन्, वा गण्डकी फेरि ‘क्रस भोटिङ’ को प्रयोगशाला बन्छ—त्यसको उत्तर फागुन २१ पछि मात्रै स्पष्ट हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: