पोखरा विद्युत प्राधिकरणको स्टोरबाटै १४ लाखको तार ‘गायब’: पूर्व प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share:

पोखरा। नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रमा भएको एक सनसनीपूर्ण भ्रष्टाचार काण्डको पर्दाफास भएको छ । केन्द्रको कोत्रे पोल प्लान्टस्थित स्टोरबाट करिब १४ लाख रुपैयाँ बराबरको तामाको तार योजनाबद्ध रूपमा गायब पारेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले र कान्तिपुर सेक्युरिटी सर्भिसका सुरक्षा गार्डहरू रामकुमार पुर्जा र हेम शर्मा रिमालविरुद्ध आरोपपत्र दायर गरेको हो ।

अनुसन्धानका अनुसार, स्टोरमा मौज्दात रहेको ७० एमएमको १७४ मिटर र १२० एमएमको ७४६ मिटर गरी कुल ९२० मिटरभन्दा बढी तामाको तार गायब पारिएको छ । गायब पारिएको उक्त तारको मूल्य १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ ३ पैसा कायम गरिएको छ ।

रोचक कुरा त के छ भने, यो तार यति ठूलो परिमाण र तौलको थियो कि यसलाई कुनै व्यक्तिको झोलामा लुकाएर लैजान असम्भव देखिन्छ । अख्तियारको निष्कर्ष छ, “तार बाहिर निकाल्न मेसिनरी उपकरण वा गाडीकै प्रयोग भएको हुनुपर्छ र यो कार्य सुरक्षा गार्डहरूको ड्युटीकै समयमा कर्मचारीको प्रत्यक्ष मिलेमतोमा भएको हो ।”

घटनाको पृष्ठभूमि झन् रोचक छ । २०८० वैशाख ५ गते स्टोर प्रमुख लोकप्रसाद काफ्लेले नै कार्यालय प्रमुखसमक्ष ‘तार हराएको’ भन्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा छानबिन सुरु भएको थियो । तर, स्टोरको लेजर रेकर्ड हेर्दा २०७९ फागुन २१ गतेसम्म सबै तार सुरक्षित रहेको देखिए पनि वैशाखमा अचानक गायब हुनुले कर्मचारीहरूकै नियतमाथि प्रश्न उठाएको थियो ।

अख्तियारको दाबी: पदको दुरुपयोग र राज्यलाई नोक्सानी

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार केन्द्र प्रमुख सिंह र स्टोर प्रमुख काफ्लेले सरकारी सम्पत्तिको संरक्षण गर्नुको साटो पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिएका छन् । सुरक्षा गार्डहरूलाई भने यो अपराधमा ‘मतियार’ बनेर सहयोग गरेको अभियोग लागेको छ ।

अख्तियारले चारैजना प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो बमोजिम १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ जरिवाना, बिगो असुलउपर र कैद सजायको माग गरेको छ । सरकारी सम्पत्तिको सुरक्षा गर्न बसेका हाकिम र गार्डहरू नै मिलेर “मालपोत” झैं तार बेचेर खाएपछि अहिले पोखरा विद्युत प्राधिकरणभित्र खैलाबैला माच्चिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: