
पोखरा। पोखरा महानगरपालिकाले करदातालाई दिँदै आएको १० प्रतिशत कर छुटको समयावधि आगामी चैत मसान्तसम्म बढाएको छ । महानगरको १८औँ नगरसभाले राजस्व सङ्कलन प्रणालीमा आएको प्राविधिक समस्याका कारण सेवाग्राही मर्कामा पर्न सक्ने अवस्था देखिएपछि उक्त निर्णय गरेको हो ।
चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनमा भए पनि प्रणालीमा समस्या देखिँदा कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार सेवाग्राहीले चाहेर पनि कर तिर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै छुटको समयावधि थप गरिएको हो ।
यसअघि राजस्व प्रणालीमा देखिएको समस्याले सेवाग्राही प्रभावित भएको भन्दै वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले कर छुटको समयावधि बढाउन नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका थिए । सोही विषयमा नगरसभाले छलफल गरी करदाताको हितमा समय थप गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।
महानगरको यस निर्णयले प्रणालीगत समस्याका कारण कर बुझाउन नपाएका करदातालाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
