पोखरा-१५ मा बृहत् खेलकुद महोत्सवको शुभारम्भ,१७ इभेन्टमा प्रतिस्पर्धा, ५ लाख ८८ हजारभन्दा बढी पुरस्कार

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ द्वारा आयोजित चौथो संस्करणको बृहत् खेलकुद महोत्सव सोमबारदेखि  रूपमा शुभारम्भ भएको छ। ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले गरेका हुन् ।

माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर बास्केटबल, रस्साकस्सी, दौड, ह्वीलचेयर दौड, साइक्लिङ, युनी हक्की लगायत १७ वटा खेल इभेन्टमा प्रतिस्पर्धा हुने छ। प्रतियोगिता वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानसहित वडा भित्रका विभिन्न सङ्घ-संस्थाका खेलकुद स्थलमा सञ्चालन गरिनेछ।

महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार यसपटकको महोत्सव अघिल्ला तीन संस्करणभन्दा थप परिष्कृत, समावेशी र व्यवस्थित बनाइएको छ। खेल सङ्ख्या र पुरस्कार राशिमा समेत उल्लेख्य वृद्धि गरिएको उनले बताए। महोत्सवमा कुल ५ लाख ८८ हजार रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरिनेछ।

महोत्सव उद्घाटनअघि बाजागाजा सहित झाकी र्‍याली निकालिएको थियो, जसले सम्पूर्ण वडा क्षेत्रलाई उत्सवमय बनाएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष तोरणबहादुर बानियाँले खेलकुदलाई माध्यम बनाएर स्थानीय तहमा समुदायको सर्वाङ्गीण विकास, सामाजिक एकता र प्रतिभा पहिचानमा जोड दिँदै महोत्सवलाई निरन्तरता दिइँदै आएको बताए।

सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदमा योगदान पुर्‍याएका पाँच जना खेलाडीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा बक्सिङतर्फ एसियन गेम्सका खेलाडी चित्रबहादुर गुरुङ, फुटबलका विजय गुरुङ र शिव श्रेष्ठ, करातेका लक्ष्मण कुँवर तथा सचिन बीके रहेका छन्।

त्यसैगरी ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत वडा नं. १५ का अति विपन्न परिवारका ९ जना टेनिस खेलाडीलाई पौष्टिक खाद्यान्न वितरण गरिएको छ। खाद्यान्न प्राप्त गर्ने खेलाडीमा सुमित विश्वकर्मा, आदित्य सुनार, कुस सुनार, लभ सुनार, सुप्रिया सुनार, इनुला परियार, स्वस्तिका विश्वकर्मा, अनमोल सार्की र शरण विश्वकर्मा रहेका छन्।

महोत्सवको पूर्वसन्ध्यामा वडा कार्यालय परिसरबाट वन विज्ञान अध्ययन संस्थानसम्म झाँकी तथा र्‍याली प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा जनजागृति आमा समूह प्रथम, स्यानी मजुवा बसुन्धरा मार्ग आमा समूह द्वितीय र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरा-१५ तृतीय भए। सिद्धेश्वर परोपकार गुरुकुल आश्रम र वेलनन एकेडेमीले सान्त्वना स्थान हासिल गरे। विजेताले क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार र १५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

विद्यालयतर्फ थ्री एन्जल मिसन स्कुल, सिद्ध मावि तथा टोल विकास र युवा क्लबतर्फ फलेपाटन, अलकापुर टोल विकास संस्था, गलेश्वर युवा क्लब र दिव्यज्योति क्लब उत्कृष्ट घोषित भए। सम्मानित तथा पुरस्कृत खेलाडी र संस्थालाई पोखरा महानगरका मेयर  आचार्य, वडा अध्यक्ष बानियाँ, वडा सदस्य तथा प्रतिनिधिहरूले सम्मानपत्र र पुरस्कार प्रदान गरेका थिए।

महोत्सवको उद्घाटन खेलमा दीपज्योति युवा क्लबले गलेश्वरलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। दोस्रो खेलमा अलकापुर टोल विकास संस्थाले फलेपाटन श्री १५ लाई ४-१ गोल अन्तरले हराएको छ। विद्यालयतर्फको पहिलो खेलमा सिद्ध माविले थ्री एन्जललाई ४-० गोल अन्तरले पराजित गरेको छ। फुटबलतर्फ टोल तथा युवा क्लब समूहबाट १० र विद्यालयतर्फ ९ विद्यालयको सहभागिता रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: