
पोखरा । प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुपर्नेछ। मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिएको छ। आयोगका अनुसार एक राजनीतिक दलबाट बढीमा २५ जनासम्म मात्र मनोनयन दर्तामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। बाजागाजा, नाराबाजी र कोणसभा पूर्ण रूपमा निषेध गरिएको छ।
आचारसंहिताअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्र मतदान मितिभन्दा १७ दिनअघिदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइनेछ। सो अवधिमा जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममार्फत प्रचार सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ। निर्वाचनमा विजयी भएपछि उम्मेदवारले भोजभतेर आयोजना गर्न वा नगद तथा जिन्सी वितरण गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ।
यसैबीच, कास्कीमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाले जनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार पोखरामा आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहभागीहरूले निर्वाचन सफल पार्न आ-आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन्।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले आचारसंहिता पालनाको प्रभावकारी अनुगमन गरिने स्पष्ट पार्दै उल्लंघन भए उम्मेदवारको मनोनयन नै रद्द हुनेसम्मको कानुनी व्यवस्था रहेको चेतावनी दिए।
बैठकमा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु सबैको साझा दायित्व भएको उल्लेख गरे। नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले मतदाताले निर्भीक वातावरणमा मतदान गर्न पाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।
यस्तै, नेकपा कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले विगतका कमजोरीबाट पाठ सिक्दै आचारसंहिता पालनामा गम्भीर हुनुपर्ने धारणा राखे। कार्यक्रममा रास्वपा, राप्रपा, मंगोल नेसनल अर्गनाइजेसनलगायत दलका प्रतिनिधि तथा पत्रकारको सहभागिता थियो।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी करिब २ हजार सुरक्षाकर्मी तथा २ हजार ३ सय ३३ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले मनोनयन दर्ताका क्रममा भीडभाड हुन नदिन राजनीतिक दलहरूलाई आलोपालो समय व्यवस्थापन गरिएको जानकारी दिए।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता २०८२ उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र कानुनी कारबाही हुने स्पष्ट पारे।
आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले सवारी साधन प्रयोग गरी एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपसार गर्न पाउने छैनन्। जुलुस वा आमसभा गर्न स्थानीय प्रशासन र प्रहरीलाई कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनुपर्नेछ।
यस्तै, जुलुस वा सभामा सहभागीले दल वा उम्मेदवारको चुनाव चिह्न, झन्डा वा लोगो अंकित कपडा, टोपी, टिसर्ट, ब्याज, मास्क, झोला वा लकेट प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। यो आचारसंहिता मन्त्री, कर्मचारी, सुरक्षा निकाय, बैंक तथा वित्तीय संस्था र विकास साझेदार संस्थाहरूलाई समेत लागू हुनेछ।
कास्कीमा निर्वाचन क्षेत्र नम्बर १ का लागि पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
क्षेत्र नम्बर २ को कार्यालय पोखरा-१७ ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालयमा र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा स्थापना गरिएको छ।
निर्वाचन कार्यालयका अनुसार कास्कीमा १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन्।
