गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ रास्वपाकी एक्ली उम्मेदवार विना गुरुङ

Share:

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विना गुरुङलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले पार्टीको आधिकारिक टिकट पाएकी हुन्। विना गण्डकी प्रदेशका ११ जिल्लाअन्तर्गतका विभिन्न निर्वाचन क्षेत्रमध्ये रास्वपाबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने एक्ली महिला बनेकी छन्। पार्टीको यो निर्णयलाई महिला नेतृत्व र समावेशितालाई प्राथमिकता दिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सो क्षेत्रको टिकटका लागि रास्वपा कास्कीका सभापति यदु अधिकारी र गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठी प्रमुख दाबेदारका रूपमा देखिएका थिए। तर पार्टीका प्रभावशाली पुरुष नेताहरूलाई पछि पार्दै विनाले टिकट हात पारेपछि कास्की रास्वपाभित्र यसलाई उत्साहका साथ लिइएको छ।

रास्वपाको संसदीय बोर्डले उम्मेदवार छनोट गर्दा विभिन्न मापदण्ड, पार्टीप्रतिको योगदान र समावेशी प्रतिनिधित्वलाई आधार बनाएको जनाएको छ। आकांक्षीहरूमध्ये सबैलाई पछि पार्दै विनाले उम्मेदवारी सुनिश्चित गरेपछि उनको नाम राजनीतिक वृत्तमा चासोका साथ चर्चामा आएको छ।

यसअघि कास्कीका अन्य निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवारहरूको चर्चा चुलिएका बेला क्षेत्र नम्बर ३ बाट विनाको उम्मेदवारी सार्वजनिक हुनु विशेष अर्थपूर्ण मानिएको छ। आधिकारिक उम्मेदवार चयन भएसँगै उनले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र बनाउने तयारी थालेकी छन्।

विनाले आफ्नो उम्मेदवारीलाई आम नागरिक, विशेषगरी महिलाको आवाज प्रतिनिधि सभासम्म पुर्‍याउने अवसरका रूपमा लिएको बताएकी छन्। गण्डकी प्रदेशभर प्रत्यक्षतर्फ एउटै मात्र महिला उम्मेदवार बनेकाले पनि उनको उम्मेदवारीले थप महत्त्व पाएको छ। रास्वपाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट गनेस पौडेल र क्षेत्र नम्बर २ बाट उत्तम पौडेललाई उम्मेदवार बनाइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: