
पोखरा । पोखरा महानगरपालिका वडा नं.३० शिशुवा स्थित शिशुवा जेष्ठ नागरिक समाजको १४औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। जेष्ठ नागरिकको सम्मान, संस्कार संरक्षण र संस्थागत विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूले जेष्ठ नागरिक समाजका मार्गदर्शक र धरोहर भएको धारणा व्यक्त गरेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले जेष्ठ नागरिक समाजका संस्थापक टिकाराम वास्तोलालाई धन्यवाद दिँदै संस्थाको निरन्तरताले सामाजिक एकता मजबुत बनेको उल्लेख गरे। उनले समाजका लागि जग्गा प्राप्ति भइसकेको अवस्थामा भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिँदै, “पहिला बस्न मिल्ने घर आवश्यक हुन्छ, त्यसपछि गतिविधि स्वतः विस्तार हुँदै जान्छन्,” भने।
जेष्ठ नागरिकको सम्मान र संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धलाई मर्यादित र व्यवस्थित ढंगले अघि बढाउन आग्रह गरे। कार्यक्रममा पत्रकार कविराज खनालले जेष्ठ नागरिक समाजका अगुवा भएको उल्लेख गर्दै उनीहरूको दुःख–सुखमा साथ दिन सबैले दायित्वबोध गर्नुपर्ने बताए।
उनले वर्तमान समाजको अवस्था जेष्ठ नागरिककै योगदानबाट सम्भव भएको र धर्म, संस्कृति तथा संस्कार संरक्षणको महत्वपूर्ण जिम्मेवारी पनि उनीहरूकै काँधमा रहेको धारणा राखे। सो अवसरमा प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहोरीयाका अध्यक्ष ऋषिराम जमरकट्टेलले सन्तुष्टि र शान्तिपूर्ण जीवन नै आत्मिक उन्नतिको आधार भएको बताए।
उनले नजिकैको अस्पतालले जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिँदै आएको जानकारी गराउँदै नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरे। साथै, उनले आफ्ना स्वर्गीय पिताको आत्माको चिरशान्तिको कामना गर्दै संस्थाको भवन निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरीले संस्थामा करिब तीन सय जेष्ठ नागरिक आबद्ध रहेको जानकारी दिँदै भजन, चुट्का तथा सांस्कृतिक कार्यक्रममार्फत संस्कार र परम्परा जोगाउने दायित्व जेष्ठ नागरिकको भएको उल्लेख गरे। उनले संस्कार संरक्षण विगत सम्झने कार्य मात्र नभई भावी पुस्तालाई हस्तान्तरण गर्ने साझा जिम्मेवारी भएकोमा जोड दिए।
कार्यक्रममा शिशुवा नेवाः खलका पूर्व अध्यक्ष अर्जुन ताम्राकार, समाजसेवी कृष्णप्रसाद ढुङ्गाना, पोखरा महानगरपालिका कर्मचारी मिना भण्डारी, हरिहर आश्रम भलामका अध्यक्ष विष्णुबहादुर आचार्य, संस्थाका सल्लाहकार बामदेव जमरकट्टेल, इन्द्रबहादुर थापा तथा ओम शान्तिकी प्रमुख सविता दिदीलगायतले जेष्ठ नागरिकका अधिकार, कर्तव्य, सामाजिक सम्मान र पारिवारिक भूमिकाका विषयमा विचार व्यक्त गरे।
यसै अवसरमा संस्थाको हित र विकासमा उल्लेख्य योगदान पुर्याउने दामोदर लामिछाने, कृष्णप्रसाद ढुङ्गाना, बलराम थापा, सुरेन्द्र अधिकारी र कृष्णप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष ताराप्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव बोधराज गौतमले सचिवको प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष उमा वास्तोलाले राख्नुभएको थियो। समारोहलाई थप आकर्षक बनाउन बटुकहरूको स्वागत नृत्य र भजन प्रस्तुत गरिएको थियो।
जेष्ठ नागरिकको अनुभव, संस्कार र योगदान समाजका अमूल्य सम्पत्ति भएको सन्देशसहित सम्पन्न भएको यस वार्षिकोत्सवले स्थानीय तहमा जेष्ठ नागरिकप्रतिको सम्मान, संरक्षण र सहकार्यको आवश्यकता अझ स्पष्ट पारेको छ।
