सितापाइला घाट व्यवस्थापनमा आमा समूहको सहयोग

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं.१७ स्थित सितापाइला घाट व्यवस्थापनका लागि सितापाइला आमा समूहले आर्थिक सहयोग प्रदान गरेको छ । जन्मदेखि मृत्युसम्मका संस्कारसँग जोडिएको धार्मिक स्थलसम्म पुग्ने बाटो निर्माणका लागि आमा समूहले ५१ हजार ११५ रुपैयाँ सहयोग गरेको हो ।

महतगौडाचोकमा आयोजित एक कार्यक्रममा आमा समूहकी अध्यक्ष जमना मल्लले सितापाइला घाट व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालालाई नगद रकम हस्तान्तरण गरिन् ।

अध्यक्ष मल्लका अनुसार उक्त रकम माघे सङ्क्रान्ति मेलामा शेलरोटी तथा तरकारी बिक्रीबाट संकलन गरिएको आम्दानी र समाजमा आयोजना गरिएका विभिन्न सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएर उठाइएको रकमबाट जुटाइएको हो । सामाजिक र धार्मिक दृष्टिले महत्वपूर्ण घाटको व्यवस्थापनमा योगदान गर्न पाउँदा समूह गर्वान्वित भएको उनले बताइन् ।

घाटसम्म जाने कच्ची मोटर बाटो निर्माणका लागि पोखरा महानगरपालिका वडा नं.१७ बाट १० लाख रुपैयाँ र स्थानीयस्तरमा संकलन गरिएको ९ लाख रुपैयाँ गरी कुल १९ लाख रुपैयाँ लागतमा काम सम्पन्न गरिएको छ ।

बाटो निर्माण समितिका सचिव विक्रम बाबुराम भण्डारीका अनुसार सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने उक्त बाटोमा सुरक्षाका दृष्टिले एकतर्फी नाला र फलामे रेलिङ निर्माण अपरिहार्य रहेको छ । त्यसका लागि आवश्यक बजेट जुटाउन घरदैलो कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए ।

घाट संरक्षणका लागि मोटर बाटोको दुवैतर्फ ग्याबियन जाली भर्ने काम पनि जारी रहेको बताउँदै भण्डारीले धार्मिक क्षेत्रको विकासमा स्थानीयवासीले देखाएको उत्साह प्रेरणादायी भएको उल्लेख गरे ।

उक्त बाटो निर्माणपछि माघे सङ्क्रान्तिका अवसरमा नदीमा स्नान गर्न जाने भक्तजनलाई प्रत्यक्ष सुविधा पुगेको छ । स्थानीयको सक्रियताले धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षणमा नयाँ ऊर्जा थपिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: