
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । मंगलबार सम्पन्न मनोनयनमा पुराना दलका शीर्ष नेता, चर्चित अनुहारदेखि राष्ट्रिय बहसमा रहेका स्वतन्त्र उम्मेदवारसम्मको सहभागिताले चुनावी माहोल तातेको छ ।
प्रदेशका ११ वटै जिल्लाबाट कुल २ सय ४७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बलियो चुनौती दिने देखिएको छ । साना दल र स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ ।
यस निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ पुनः चर्चाको केन्द्रमा छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेपछि यो क्षेत्र राष्ट्रिय बहसमा आएको हो । एमालेले ‘चक्रे मिलन’ का नामले परिचित मिलन गुरुङलाई उम्मेदवार बनाउँदा कांग्रेसका प्रकाशचन्द्र दवाडी, रास्वपाका कवीन्द्र बुर्लाकोटी र नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने पनि मैदानमा छन् । बहुपक्षीय प्रतिस्पर्धाले यहाँ नतिजा अनुमान गर्न कठिन बनेको छ ।
तनहुँ–१ मा पनि चुनावी सरगर्मी चुलिएको छ । २०८० को उपनिर्वाचनमा विजयी रास्वपा उपसभापति स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई पुनः आमनेसामने छन् । एमालेले राष्ट्रिय सभा सदस्यबाट राजीनामा गराएर भगवती न्यौपानेलाई उम्मेदवार बनाएपछि त्रिपक्षीय भिडन्त पक्का भएको छ । उता, तनहुँ–२ मा २०७४ का विजेता एमालेका केदार सिग्देल र २०७९ का विजेता कांग्रेसका शंकर भण्डारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
म्याग्दीमा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा पूर्वमन्त्री महावीर पुन ले स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी चर्चा थपिएको छ । लमजुङमा एमालेका हेभीवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङबीचको प्रतिस्पर्धालाई पनि चासोका साथ हेरिएको छ ।
नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरे ले एउटै पार्टीको आधिकारिक टिकट लिएर मनोनयन दर्ता गरेपछि आन्तरिक विवाद चर्किएको छ । दुवै उम्मेदवारको टिकटमा सभापति गगन थापाको हस्ताक्षर रहेको बताइएको छ । कांग्रेसले बुधबारसम्म समस्या समाधान गर्ने जनाएको छ ।
कास्की–२ मा कांग्रेस नेता निर्दोष विक्रम पौडेल ले पार्टी नेतृत्वले व्यापारीलाई प्राथमिकता दिएको आरोप लगाउँदै बागी उम्मेदवारी दिएका छन् । उता, मनाङमा रास्वपाका उम्मेदवार अनिल गुरुङ अन्तिम समयसम्म सम्पर्कविहीन भएपछि पार्टीले उम्मेदवारी दिन नसकेको जनाएको छ ।
कुन जिल्लामा कति उम्मेदवार ?
निर्वाचन आयोगका अनुसार
कास्की: ३ क्षेत्र – ४९ उम्मेदवार
नवलपुर: २ क्षेत्र – ३७ उम्मेदवार
तनहुँ: २ क्षेत्र – २८ उम्मेदवार
स्याङ्जा: २ क्षेत्र – २८ उम्मेदवार
गोरखा: २ क्षेत्र – २७ उम्मेदवार
बागलुङ: २ क्षेत्र – २३ उम्मेदवार
पर्वत: १७ उम्मेदवार
म्याग्दी: १३ उम्मेदवार
लमजुङ: १२ उम्मेदवार
मुस्ताङ: ८ उम्मेदवार
मनाङ: ५ उम्मेदवार
प्रदेशभरि सबैभन्दा धेरै उम्मेदवार नवलपुर–१ (१९ जना) मा छन् भने सबैभन्दा कम मनाङ (५ जना) मा रहेका छन् ।
