
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा सञ्चालन भइरहेको १४ औँ संस्करणको पोखरा महोत्सव नवौं दिनमा प्रवेश गर्दा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । महोत्सव स्थल दिनहुँ दर्शकले खचाखच भरिनुका साथै स्टलहरूमा हुने कारोवारसमेत दिनप्रतिदिन बढ्दै गएको छ ।
महोत्सवमा घरायसी सामग्री, लत्ता-कपडा, अर्गानिक खानाका परिकार, कृषि तथा व्यवसायिक स्टलहरू दर्शकको मुख्य आकर्षण बनेका छन् । विशेषगरी बाल उद्यानमा बालबालिकाको भीड देखिनुका साथै परिवारसहित आउने दर्शकहरू उत्साहित देखिएका छन् ।
दर्शकलाई मनोरञ्जन प्रदान गर्न महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुती हुँदै आएको छ । बुधबार आयोजित सांस्कृतिक कार्यक्रममा चर्चित गायिका शान्तारानी परियारको प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन दिलायो । शान्तारानीसँगै पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाललगायत कलाकारहरूको प्रस्तुतीले माहोल थप रोमाञ्चक बन्यो । त्यस्तै, जादुगर दीपक थापा मगरको जादु कलाले दर्शकलाई आश्चर्यचकित बनायो ।
साँझको लाइभ कन्सर्टमा रकहेड्स ब्याण्डको दमदार प्रस्तुतीमा युवापुस्ता झुमेको देखिन्थ्यो । महोत्सव अन्तर्गत आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता पनि दर्शकको आकर्षणको केन्द्र बनेको छ । बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलले आफ्नो प्रस्तुती दिएका थिए ।
बिहीबार अमरसिंह मावि (नेपाली), कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमीबीच प्रतिस्पर्धा हुने सह-संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागी १७ समूहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्नेछन् भने फाइनलको नतिजा माघ ९ गते सार्वजनिक गरिनेछ ।
महोत्सवको दशौं दिन लोकदोहोरीतर्फ अस्मिना अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पूजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायत कलाकारहरूको प्रस्तुती रहनेछ । साँझको लाइभ ब्याण्डतर्फ जेम्सी ब्याण्डको प्रस्तुती रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
महोत्सवको मुख्य प्रायोजक बेटर होम एप्लायन्सले १ हजार रुपैयाँ बराबरको सामान खरिदमा कुपन प्रदान गर्दै भाग्यशाली उपभोक्तालाई आकर्षक पुरस्कार वितरण गर्ने भएको छ ।
जस अन्तर्गतः
प्रथम पुरस्कार: १ टनको बेटर एसी
दोस्रो: १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर / मोनाको गिजर
तेस्रो: बेटर ब्रेथ ९० ग्लास हुड चिम्नी
चौथो: रेडियान्स भ्याकुम क्लिनर
कन्सोलेसन: एमिनेट एयर फ्रायर
भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोलाप्रथाबाट स्टेजमै गरिनेछ । महोत्सव अवधिभर पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीसँगको सहकार्यमा पोखरा-मुक्तिनाथ दुईतर्फी यात्रा २५ सय रुपैयाँमा व्यवस्था गरिएको छ । यात्रामा निःशुल्क शाकाहारी खाना र खाजासमेत समावेश गरिएको अतिरिक्त व्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले बताए ।
प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजमले दैनिक ५ जना भाग्यशालीलाई निःशुल्क केबलकार टिकट प्रदान गरिरहेको छ भने भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले भाषा कक्षामा ५० प्रतिशत छुटसहित दैनिक एकजनालाई निःशुल्क भाषा कक्षाको अवसर दिइरहेको छ ।कान्तिपुर डेन्टल हस्पिटलबाट दैनिक निःशुल्क दाँत स्क्रिनिङ
टिकटक प्रतियोगिताको विजेतालाई २५ हजार नगद पुरस्कार, रेभल एपमार्फत अनलाइन टिकट बुकिङ तथा वी-पोखरा एप ३० हजार डाउनलोड पुगे एकजनालाई आइफोन १७ प्रो छेलो प्रतियोगिताको फाइनल बिहीबार बिहान ९ बजे
व्यापार, मनोरञ्जन, संस्कृति र पर्यटनको संगम बनेको पोखरा महोत्सवले पोखरेलीसहित देशभरका दर्शकलाई आकर्षित गरिरहेको छ ।
