
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-६ बैदाममा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा सहकारीले पोखरा महानगरपालिका वडा नम्बर-२५ मा रहेको मानवसेवा आश्रममा आश्रित १९० जनालाई बिहानको खाना खुवाएर मानवीय सेवा प्रदान गरेको हो।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष सूर्यनाथ पहारीले विगतका स्थापना दिवसहरूमा फेवा ताल सरसफाइ, रक्तदान कार्यक्रम तथा विद्यालयमा न्यानो कपडा वितरणजस्ता सामाजिक कार्य गर्दै आएको स्मरण गरे। यस वर्ष नाना, खाना र छानाबाट वञ्चित भई आश्रममा बस्दै आएका बेसहारा व्यक्तिहरूप्रति सम्मान र माया व्यक्त गर्ने उद्देश्यले बिहानको भोजन गराउन पाएकोमा आफूहरू निकै खुशी भएको उनले बताए।
मानवसेवा आश्रम हेम्जाका व्यवस्थापन समिति प्रमुख रामजी अधिकारीले सहकारी संस्थाले स्थापना दिवसको अवसरमा आश्रममा आश्रित परिवारलाई भोजन गराएर उदाहरणीय काम गरेको उल्लेख गरे। उनले कार्यक्रम सफल बनाएकोमा सहकारी परिवारलाई धन्यवाद दिँदै यस्ता असल कर्मले समाजमा सहयोगी भावना अझ मजबुत हुने विश्वास व्यक्त गरे।
संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कृष्ण कुमारी पौडेल, कोषाध्यक्ष बैकुण्ठ तिमिल्सिनालगायत सहकारीका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
