डा. कृष्णराज अधिकारी बने गण्डकी विश्वविद्यालयका दोस्रो उपकुलपति, सम्हाले पदभार

Share:

पोखरा । गण्डकी विश्वविद्यालयका उपकुलपतिमा सहप्राध्यापक डा. कृष्णराज अधिकारीले बुधबार पदभार ग्रहण गरेका छन्। गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको यो विश्वविद्यालयको दोस्रो कुलपति बनेका सहप्राध्यापक अधिकारी इन्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका पूर्वप्रमुख हुन्।

गण्डकी विश्वविद्यालय ऐनमा न्यायिक परिषद्ले तीन जनाको नामा सिफारिस गर्ने र तीमध्ये एकलाई मुख्यमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माघ ४ गते अधिकारीलाई उपकुलपति नियुक्त गरेका हुन्।

नवनियुक्त उपकुलपति अधिकारी सौर्य ऊर्जामा विद्यावारिधि हुन् भने उनी २८ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी निवृत्त भएका थिए । गण्डकी विश्वविद्यालयलाई अनुसन्धान र नवप्रवर्तनमुखी बनाउने उनले प्रतिवद्धता गरे ।

न्यायिक परिषद्का अध्यक्ष प्राडा. कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा संगीता सिंह र प्रदेश लोकसेवा आयोग गण्डकी सदस्य योगेन्द्र गौचन रहेको छनोट समितिले उपकुलपतिमा डा. अधिकारीसहित प्राडा सरोज कोइराला र वीरबहादुर खनालको नाम सिफारिस भएको थियो ।

पाँच वर्षे कार्यकाल सकेर प्राडा. नवराज अधिकारी असोज दोस्रो साता बिदा भएपछि उपकुलपति रिक्त थियो । गण्डकी विश्वविद्यालयका संस्थापक कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिएपछि गत चैत २९ गते प्राडा. ईन्द्रप्रसाद तिवारी कुलपति नियुक्त भएका थिए। विश्वविद्यालयमा रजिस्ट्रार पनि रिक्त छ ।

कमेन्ट गर्नुहोस्
Share: