
पोखरा । गण्डकी प्रदेशका ५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटक पनि चुनावी मैदान नयाँभन्दा पुरानै प्रतिस्पर्धीले भरिएको छ। कतिपय उम्मेदवार दशकौँदेखि एक-अर्काविरुद्ध चुनाव लड्दै आएका छन् भने कतिपयका लागि यो जित-हारको पुरानो हिसाब मिलाउने अवसर बनेको छ।
सबैभन्दा लामो प्रतिस्पर्धाको इतिहास पर्वतमा देखिन्छ। कांग्रेसका अर्जुन जोशी र एमालेका पदम गिरी २०७० सालदेखि निरन्तर आमनेसामने छन्। गिरीले पछिल्ला दुई निर्वाचन जित्दै आएका छन् भने जोशी यसपटक गिरीको ह्याट्रिक रोक्ने दाउमा छन्।
मनाङमा पनि पुरानै भिडन्त दोहोरिएको छ। कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ फेरि चुनावी मैदानमा उत्रिएका छन्। टेकबहादुर २०७० देखि निरन्तर उम्मेदवार छन् भने पोल्देन २०७४ देखि चुनावी प्रतिस्पर्धामा छन्।
तनहुँ-२ मा कांग्रेसका शंकर भण्डारी र एमालेका केदार सिग्देलबीचको प्रतिस्पर्धा पनि नयाँ होइन। २०७४ मा केदारसँग पराजित भएका शंकरले २०७९ मा जित निकालेका थिए। अहिले शंकरका लागि पुरानो हारको बदला लिने अवसर छ भने केदारका लागि जितको निरन्तरता कायम राख्ने चुनौती।
तनहुँ-१ को चुनावलाई यसपटक सबैभन्दा रोचक मानिएको छ। २०८० को उपनिर्वाचनमा कांग्रेसको गढ भत्काउँदै निर्वाचित भएका रास्वपाका स्वर्णिम वाग्लेविरुद्ध कांग्रेसले पुरानै प्रतिस्पर्धी गोविन्द भट्टराईलाई मैदानमा उतारेको छ। यी दुईबीच दोस्रो पटक प्रत्यक्ष भिडन्त हुँदैछ।
लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र रास्वपाका धर्म केसीबीच पुनः प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा पृथ्वीसुब्बा संसदीय राजनीतिका सबैभन्दा अनुभवी नेता मानिन्छन्।
४० वर्षदेखि चुनावी मैदानमा पृथ्वीसुब्बा
लमजुङका पृथ्वीसुब्बा गुरुङ २०४३ सालदेखि लगातार चुनावी प्रतिस्पर्धामा छन्। जनपक्षीय उम्मेदवारका रूपमा राजनीतिक यात्रा सुरु गरेका उनले २०६४ मा प्रतिनिधिसभा जिते भने २०७४ मा प्रदेशसभा र २०७९ मा प्रतिनिधिसभामा निर्वाचित भए। बाँकी चुनावमा पराजय भोगे पनि उनी ४० वर्षदेखि मैदान छोडेका छैनन्।
कांग्रेस पर्वतका अर्जुन जोशी पनि लगातार चुनाव लड्ने नेतामध्ये पर्छन्। २०५६ देखि पर्वतबाट टिकट पाउँदै आएका जोशी २०५६, २०६४ र २०७० मा विजयी भए भने २०७४ र २०७९ मा पराजित।
मुस्ताङमा भने पुस्तान्तरण देखिएको छ। दशकौँसम्म एकछत्र राज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले पछिल्लो चुनावदेखि मैदान छोड्दै आफ्नै छोरा योगेश गौचनलाई अघि सारेका छन्। २९ वर्षकै उमेरमा योगेशले २०७९ मा निर्वाचन जितेका थिए। यसपटक पनि उनी चुनावी मैदानमा छन्।
तनहुँका शंकर भण्डारी, मनाङका टेकबहादुर गुरुङ, पर्वतका पदम गिरीजस्ता नेताहरू निरन्तर उम्मेदवारको सूचीमा छन्। पदम गिरीले त २०७४ पछि लगातार जित निकाल्दै आएका छन् र अहिले ह्याट्रिकको खोजीमा छन्।
गोरखा-१ मा नेकपा उम्मेदवार हरिराज अधिकारी पुनः मैदानमा फर्किएका छन्। २०७४ मा उम्मेदवार बनेका उनी २०७९ मा गठबन्धनका कारण बाहिरिएका थिए।
गोरखा-२ मा बाबुराम भट्टराई २०६४ देखि निरन्तर चर्चामा रहेका उम्मेदवार हुन्। २०७९ मा प्रचण्डलाई क्षेत्र छोडेका उनी अहिले फेरि ‘मतदाताको आग्रह’ भन्दै चुनावी मैदानमा उत्रिएका छन्।
यसरी गण्डकीका निर्वाचन क्षेत्रहरू यसपटक पनि नयाँ अनुहारभन्दा पुराना प्रतिस्पर्धी, अधुरा हिसाब-किताब र दोहोरिने राजनीतिक इतिहासले ततिएका छन्। मतदाताले यसपटक कसलाई रोज्छन्, त्यो भने चासोको विषय बनेको छ।
