नागढुङ्गा आमा समूह रजत जयन्तीमा, २५ वर्षको यात्रामा स्मृति

Share:

पोखरा । पोखराको नागढुङ्गा आमा समूह स्थापना भएको २५ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा समूहले केक काट्दै र शुभकामना आदान-प्रदान गर्दै रजत जयन्ती मनाएको छ। रजत जयन्ती समारोहमा समूहका पूर्व अध्यक्षहरू पवित्रा गिरी, कमला गिरी, कमला केसी बोगटी, पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, समूहका सल्लाहकार दुर्गाराज गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदी, आमा समूहकी संस्थापक सनमाया गुरुङ लगायतले संयुक्त रूपमा केक काट्दै समूहको दीर्घायु र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।

समारोहका क्रममा समूह स्थापना भएदेखि हालसम्मका आरोह-अवरोहको स्मरण गरिएको थियो। संस्था स्थापनामा स्वर्गीय गणेशमान पालिखे, भगवती राजभण्डारी र इमा गिरी लगायतले पु¥याएको योगदानको चर्चा गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

संस्थापक अध्यक्ष पवित्रा गिरीले स्थापना कालका चुनौती र संघर्षहरूको स्मरण गर्दै, त्यतिबेला समूहसँग हातेमालो गर्नुहुने समाजसेवी गुरुदत्त लामिछाने, मनुमाया लामिछाने, स्वर्गीय खिना लामिछानेलगायतको योगदानलाई कृतज्ञतासाथ स्मरण गरे।

निवर्तमान अध्यक्षहरू कमला केसी र लक्ष्मी गिरीले आफ्नो कार्यकालमा भएका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा आमा समूहको यात्रा अझ गतिशील र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा नम्बर ९ का सदस्य नन्दराम गिरीले नागढुङ्गाको भिरालो तथा प्रयोगविहीन जमिनको संरक्षण गर्दै आमा समूहले सुविधायुक्त भवन निर्माण गर्न सफल भएकोप्रति धन्यवाद व्यक्त गरे। समूह यहाँसम्म आइपुग्न सहयोग गर्ने सबै सहयोगीहरूप्रति उनले आभार व्यक्त गरे।

समूहकी वर्तमान अध्यक्ष कमला श्रेष्ठले आफूलाई समूहमा आबद्ध गराउन प्रेरणा दिने संस्थापक सनमाया गुरुङप्रति आभार प्रकट गर्दै, विगतदेखि वर्तमानसम्म समूहमा रहँदा हासिल अनुभव र उपलब्धिहरूका बारेमा प्रकाश पारे। आगामी दिनमा सबै सदस्य र टोलका समाजसेवीसँग सहकार्य गर्दै समूहलाई एकताबद्ध ढंगले अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे।

रजत जयन्ती समारोहकै अवसरमा नागढुङ्गा आमा समूहले अक्षय कोष स्थापना गर्ने घोषणा पनि गरेको छ। अक्षय कोषको सुरुवात समाजसेवी तथा एयरपोर्ट टोल विकास संस्थाका पूर्व अध्यक्ष श्यामबहादुर श्रेष्ठले नगद रु। १० हजार प्रदान गर्दै गरे।

त्यसैगरी संस्थापक अध्यक्ष पवित्रा गिरी, संस्थापक सदस्य सीता गिरी तथा वडा सदस्य नन्दराम गिरीले पनि अक्षय कोषका लागि जनही रु. ५ हजार सहयोग गर्ने घोषणा गरेका छन्।

यसै समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ९ को आयोजना तथा नागढुङ्गा आमा समूहको संयोजनमा सम्पन्न दुई दिने धुप बनाउने तालिमका प्रशिक्षक गीता पगेनीलाई धन्यवादसहित सम्मान गरिएको थियो। उक्त तालिममा आमा समूहका झण्डै दुई दर्जन महिला सदस्यको सहभागिता रहेको थियो।

समूहकी उपाध्यक्ष सीमा लामिछानेको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुष्पा गिरीले गरेका थिए। २५ वर्षे यात्राको उत्सवसँगै नागढुङ्गा आमा समूहले सामाजिक एकता, महिला सशक्तीकरण र सामुदायिक विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: