
पोखरा। आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित कास्की जिल्लामा मतदानस्थलहरूको स्थलगत अनुगमन तीव्र पारिएको छ। सोही क्रममा शुक्रबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा सुरक्षा अधिकारीहरूको संयुक्त टोलीले पोखरा महानगरपालिकाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरेको छ।
प्रजिअ शर्मासहित सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सम्मिलित टोलीले पोखरा महानगरपालिका वडा नं. ३० र ३२ मा रहेका ६ वटा मतदानस्थलको विस्तृत अनुगमन गरेको हो। टोलीले मतदानस्थलको सुरक्षा संवेदनशीलता, भौगोलिक अवस्था, मतदाताको पहुँच, तथा आवश्यक भौतिक पूर्वाधारको अवस्थाबारे सूक्ष्म अध्ययन गरेको छ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र विश्वसनीय बनाउन मतदानस्थलको सुरक्षा व्यवस्थापन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले स्थानीय प्रशासन र सबै सुरक्षा निकायहरू निर्वाचन सुरक्षाका लागि समन्वयका साथ तयारीमा जुटिरहेको बताइन्।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार कास्की जिल्लाभर १ सय ५३ मतदानस्थलमा ३ सय २२ मतदान केन्द्र रहेका छन्। पाँच स्थानीय तह रहेको कास्कीमा सबैभन्दा बढी मतदान केन्द्र पोखरा महानगरपालिकामा छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सबै मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गर्दै सोहीअनुसार सुरक्षा योजना तयार पारिएको छ।
कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन्। जसमा १ लाख ४८ हजार ४ सय १५ पुरुष, १ लाख ६० हजार १ सय ५३ महिला र ४ जना अन्य मतदाता छन्।
महानगरका ठूला वडाहरू तथा जनघनत्व बढी भएका क्षेत्रहरूमा मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउन प्रजिअ नेतृत्वको टोलीले वडा नं. ३० र ३२ का मतदान केन्द्रहरूलाई विशेष प्राथमिकतामा राखेर निरीक्षण गरेको जनाइएको छ। अनुगमनका क्रममा खानेपानी, शौचालय, विद्युत आपूर्ति तथा अपांगतामैत्री संरचनाको उपलब्धताका विषयमा पनि गम्भीर चासो व्यक्त गरिएको थियो।
अनुगमन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखहरूको सहभागिता रहेको थियो। जिल्ला सुरक्षा समितिले आगामी दिनमा जिल्लाका अन्य पालिका तथा वडाहरूमा रहेका मतदानस्थलहरूको समेत क्रमशः अनुगमन गर्ने कार्यक्रम रहेको जनाएको छ।
