गण्डकी प्रदेश प्रहरी प्रमुखमा दीपेन्द्र घर्ती, पदभार ग्रहणसँगै निर्वाचन सुरक्षा पहिलो प्राथमिकता

Share:

पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र घर्ती क्षेत्रीले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभागले माघ ४ गते गरेको सरुवा निर्णयअनुसार घर्ती गण्डकी प्रदेशको प्रहरी प्रमुखका रूपमा नियुक्त भएका हुन्। सोही निर्णयबमोजिम यसअघिका प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेश आचार्यको सरुवा भएपछि रिक्त रहेको पदमा घर्तीले जिम्मेवारी सम्हालेका हुन्। उनी शुक्रबार पोखरास्थित प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका थिए।

पदभार ग्रहणपछि बोल्दै डिआइजी घर्तीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पारे। उनले मातहतका सिनियर प्रहरी अधिकृत तथा कर्मचारीहरूलाई निर्देशन दिँदै निर्वाचनलाई लक्षित सुरक्षा योजना चुस्त, प्रभावकारी र समयमै कार्यान्वयन गर्न जोड दिए।

यसअघि कार्यालयमा हाजिर हुँदा नवनियुक्त प्रदेश प्रहरी प्रमुख घर्तीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयका कर्मचारी तथा पोखरा उपत्यकाअन्तर्गतका मातहत कार्यालय प्रमुखहरूले पुष्पगुच्छासहित स्वागत गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: