
पोखरा । वडा स्तरीय कृषि सञ्जाल पोखरा-६ बैदामको समन्वयमा शनिबार आयोजित मल, बीउ वितरण तथा प्रशिक्षण कार्यक्रम अन्तर्गत २ सय ६० कृषकलाई बीउ र २ हजार किलो गड्यौला मल वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि, पोखरा-६ बैदामका अध्यक्ष विष्णु बहादुर भट्टराईले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर हुने भएकाले गड्यौला मलले जमिनलाई पुनः उर्वर बनाउन सहयोग पुग्ने बताए।
उनले कुहिने फोहोरलाई अर्गानिक कम्पोष्ट मलमा रूपान्तरण गरेर स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्य वडाले लिएको बताए। पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले उपस्थित कृषकहरूलाई जैविक कृषि प्रणाली र गड्यौला मल उत्पादनमा संलग्न हुने तरिका बारे प्रशिक्षण दिएका छन्। उनले आवश्यक सामग्री र तालिम निःशुल्क उपलब्ध गराइने व्यवस्था भइरहेको जानकारी पनि दिए।
कार्यक्रममा वडा-६ का सदस्यहरू पवित्रा थापा र बासु बरालले कृषकलाई आत्मनिर्भर बनाउँदै कृषि उपज निर्यात गर्न आवश्यक सहयोग र सरकारी पहलमा जोड दिएका छन्। सञ्जाल अध्यक्ष बिन्दा धरेलले कम पानीमा पनि उत्पादन बढाउने क्षमता भएका गड्यौला र कम्पोष्ट मलको प्रयोगमा कृषकलाई अग्रसर हुन आग्रह गरिन्।
कार्यक्रमको सञ्चालन उपाध्यक्ष रामेश्वर न्यौपानेले गरेका थिए भने सचिव चन्द्रकला घिमिरे पहारी र मणिमार्ग टोल विकास संस्था बैदामका अध्यक्ष महेश्वर पहारी लगायतले कृषि विकास र कृषक प्रोत्साहनमा सुझाव दिएका थिए।
उक्त कार्यक्रम जैविक कृषि प्रवर्द्धन र वातावरणमैत्री उत्पादन प्रणालीको आवश्यकतालाई स्थानीय स्तरमा स्थापित गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
