माझठाना सौर्यमा ४५ जनाले रक्तदान, ग्रामीण क्षेत्रमा पनि रक्तदाताको योगदान देखियो

Share:

पोखरा। केवल शहरमा मात्र होइन, ग्रामीण क्षेत्रका नागरिक पनि जीवनदानमा अग्रसर हुन सक्ने उदाहरण माझठाना सौर्यमा आयोजित रक्तदान कार्यक्रममा देखिएको छ। पोखरा २८ स्थित माझठाना पोखरा सम्पर्क समाज र नेपाल रेडक्रस सोसाईटी उपशाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्।

कार्यक्रमको उद्घाटन माझठाना पोखरा सम्पर्क समाजका अध्यक्ष सारदा लामिछानेले पहिलो रक्तदान ग्रिन डेभलोपमेन्ट बैंकका कार्यकारी अधिकृत हरिवहादुर ढाथोकलाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए। कार्यक्रममा पाँच जना नयाँ रक्तदाता र नौ जना महिलाको पनि सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति रमा कोइरालले नियमित रक्तदानले आकस्मिक उपचारमा रहेका बिरामीको जीवन रक्षा गर्न महत्त्वपूर्ण योगदान पुगेको बताए।

समाजले आयोजना गरेको कार्यक्रममा डा. नरेन्द्र लामिछाने र हरिवहादुर ढाथोकलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो। साथै, समाजका सल्लाहकार गदत्त भर्तेल, रत्नशोभा माध्यमिक विद्यालयका विद्यार्थी संघका अध्यक्ष सक्रराज शर्मा लगायतले रक्तदानको महत्व र आवश्यकता बारे चर्चा गरे।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रका अजयरसनप्रसाद ज्ञवालीसहितको प्राविधिक टोलीले पनि रक्तदान कार्यक्रममा सहयोग गरेको थियो। कार्यक्रम सारदा लामिछानेको अध्यक्षतामा, विनोद तिवारीको संयोजनमा, र विष्णुहरि तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो।

यसरी ग्रामीण क्षेत्रका नागरिकले रक्तदानमा सहभागिता जनाउनुले समाजमा जीवनदानको संदेश फैलाउन महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: