
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पत्रकारिताको बलियो पृष्ठभूमि भएका उत्तमप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । ‘सिधा कुरा’ मार्फत समाजका बेथिति र भ्रष्टाचारविरुद्ध टेलिभिजनको पर्दाबाट गर्जिने पौडेल अब ती समस्याको कानुनी समाधान खोज्न संसदीय यात्राको दौडमा निस्किएका हुन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपाले पौडेललाई अघि सारेसँगै कास्की २ को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । रास्वपा सभापति रवि लामिछानेसँग लामो समय सञ्चार क्षेत्रमा सहकार्य गरेका पौडेल लामिछानेका विश्वासपात्र मात्र होइनन्, पार्टीका एजेन्डालाई स्पष्टसँग जनतामाझ राख्न सक्ने प्रखर वक्ताका रूपमा पनि चिनिन्छन् ।
सञ्चारकर्मदेखि राजनीतिक यात्रासम्म
पौडेलले पोखराका स्थानीय रेडियोहरू माछापुच्छ्रे एफएम, पोखरा एफएम र सुनौलो एफएमबाट पत्रकारिताको जग बसालेका थिए । पछि टेलिभिजन पत्रकारितामा जोडिएका उनी ‘न्युज २४’ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ को गण्डकी ब्युरो प्रमुख र ‘ग्यालेक्सी ४ के’ टेलिभिजनमा समेत आबद्ध रहे । सञ्चारकर्मकै क्रममा सरकारी अड्डाका भ्रष्टाचार र ढिलासुस्तीलाई नजिकबाट देखेका पौडेल भन्छन्, “पत्रकारिताबाट आवाज उठाएँ, अब सदन पुगेर बेथितिको जरो उखेल्ने कानुन बनाउनु छ ।”
राजनीतिक विरासत र पारिवारिक पृष्ठभूमि
पौडेलका लागि राजनीति नौलो विषय भने होइन । उनमा राजनीतिक संस्कार पारिवारिक विरासतबाटै सरेको देखिन्छ । उनका पिता चिरञ्जीवीप्रसाद उपाध्याय साविक रुपा गाउँ पञ्चायतका अध्यक्ष थिए भने उनकी आमाले वि.सं. २०५१ को मध्यावधि चुनावमा कास्की २ बाटै उम्मेदवारी दिएकी थिइन् । घरकै राजनीतिक र सामाजिक परिवेशका कारण पौडेल सानैदेखि सार्वजनिक सेवा र जनचासोका मुद्दामा सक्रिय थिए ।
‘जेन्जी’ पुस्ता र सुशासनको एजेन्डा
कानुनका विद्यार्थी समेत रहेका पौडेलले यसपटक ‘जेन्जी’ अर्थात् नयाँ पुस्ताको चाहनालाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन् । उनले सुशासन, विधिको शासन र भ्रष्टाचारमुक्त समाज निर्माणलाई आफ्नो प्रतिबद्धता पत्रको प्राथमिकतामा राखेका छन् । “पुराना दलहरूको कार्यशैलीबाट आजित भएका नागरिकले विकल्प खोजिरहेका छन्,” पौडेल भन्छन्, “म केवल उम्मेदवार होइन, परिवर्तनको एउटा भरपर्दो खम्बा भएर उभिएको छु । शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनका लागि राज्यको लगानी र दृष्टिकोण बदल्नु मेरो लक्ष्य हो ।”
चुनावी अभियान तीव्र
कास्कीको रुपा गाउँपालिका देउराली स्थायी घर भई हाल पोखरा रानीपौवा बस्दै आएका पौडेलले आफ्नो क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सभापति लामिछानेमाथि लागेका आरोपहरूको सार्वजनिक रूपमै दरिलो प्रतिवाद गर्दै आएका पौडेललाई रास्वपाका कार्यकर्ता र नयाँ पुस्ताका मतदाताले निकै उत्साहका साथ हेरेका छन् । लामो समय सञ्चार माध्यमबाट जनताको सुख-दुःखमा साथ दिएका पौडेललाई यसपटक कास्कीका मतदाताले ‘सदनको प्रतिनिधि’ बनाएर पठाउँछन् या छैनन्, त्यो भने फागुन २१ को नतिजाले नै देखाउनेछ ।
