पोखराका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी मनोज थापाको निधन

Share:

पोखरा। पोखराका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी मनोज थापाको असामयिक निधन भएको छ। स्वास्थ्यसम्बन्धी समस्याका कारण उपचारकै क्रममा ५१ वर्षको उमेरमा उनको निधन भएको हो। उनको निधनले पोखराको व्यावसायिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा गहिरो शोक छाएको छ।

वि.सं. २०३१ भदौ २४ गते जन्मिएका थापा पोखरा वर्ल्ड स्कुलको सञ्चालक समिति सदस्य तथा सुपर घलेम्दी हाइड्रोपावर लिमिटेडका निर्देशक थिए। यसका साथै उनी अमेरिकाको क्यालिफोर्नियास्थित एस एण्ड जी इन्टरप्राइजेजका प्रबन्ध निर्देशक समेत थिए। स्वदेश र विदेश दुवै क्षेत्रमा उनको व्यावसायिक पहुँच र पहिचान थियो।

परिवारिक रूपमा थापा श्रीमती मोनिका थापा, छोरी सेजल थापा र छोरा गीर्वाणजंग थापा का अभिभावक हुन्। पोखरा वर्ल्ड स्कुलकी निर्देशक मोनिका थापा व्यवसायसँगै सामाजिक सेवामा सक्रिय रहँदै आएकी छन्। मनोज स्वर्गीय सप्तबहादुर थापा र स्वर्गीय ललिता थापा का पाँच भाइमध्ये कान्छा छोरा हुन्।

उनका पिता विश्व हिन्दु महासंघको नेतृत्वसहित धार्मिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्व थिए। उनका जेठा दाजु रिवबहादुर थापा हाल क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष छन्।

मनोज थापा व्यवसायमा मात्र सीमित थिएनन्। उनी कला र सिर्जनाका पारखी थिए र फुर्सदको समयमा पेन्टिङ गर्न रुचाउँथे। खेलकुदप्रेमी थापा टेनिस खेलाडीका रूपमा पनि परिचित थिए। दाजु रिवबहादुर थापाका अनुसार मनोज बाल्यकालदेखि नै लगनशील, अनुशासित र मेहनती स्वभावका व्यक्ति थिए।

उनले आफ्नो व्यावसायिक यात्रा ट्रेडिङ र हार्डवेयर व्यवसायबाट सुरु गरी क्रमशः हाइड्रोपावरलगायतका ठूला परियोजनामा लगानी गर्दै सफल व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका थिए।

उनको निधनले पोखराको व्यावसायिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघसंस्था, व्यावसायिक प्रतिष्ठान तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

स्वर्गीय थापाको पार्थिव शरीरलाई मंगलबार दिउँसो पोखरा-कुँडहरस्थित निवासबाट शवयात्रा निकालेर सेती नदीको रामघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: