
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीस्थित चण्डी माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव एक समारोहका बीच आज सम्पन्न भएको छ। वार्षिकोत्सव समारोहको उद्घाटन पोखरा महानगरपालिका वडा नं.३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले गरे।
कार्यक्रममा बोल्दै वडाध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतालाई विद्यालय शिक्षाको मूल आधार बनाउन आग्रह गरे। उनले शिक्षा क्षेत्रमा देखिँदै आएका विविध समस्याको समाधानका लागि संघीय सरकारले प्रभावकारी र दूरदर्शी शिक्षा नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले चण्डी माविले यस क्षेत्रको शैक्षिक उन्नयनमा विशिष्ट भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै पूर्वाधार विकासलाई पनि सँगसँगै अघि बढाइएको जानकारी दिए। विद्यालय स्थापना भएको लामो समयपछि निरन्तर प्रयासका कारण तीन रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा विद्यालयको नाममा जग्गाधनी पूर्जा प्राप्त हुन सफल भएको उनले बताए।
विद्यालयका प्रधानाध्यापक सन्तोषराज लामिछानेले विद्यालयको समग्र शैक्षिक तथा आर्थिक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरे। निवर्तमान प्रधानाध्यापक खिमबहादुर महतले विद्यार्थीले हासिल गर्ने चार जिपिए उनीहरूको आनीबानी, व्यवहार र नैतिकतामा पनि देखिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा सरस्वती टीका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लालुप्रसाद पराजुली, शिशु कल्याण माविका प्रधानाध्यापक सुदनराज पौडेल, शिक्षासेवी रामचन्द्र पौडेल, नगर शिक्षा समितिका सदस्य ऋषिराज आचार्य, पूर्व शिक्षक देवराज कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उक्त अवसरमा निवर्तमान प्रधानाध्यापक खिमबहादुर महतले यसअघि स्थापना गर्नुभएको ११ हजार १११ रुपैयाँको अक्षयकोषमा थप ९० हजार रुपैयाँ योगदान गरे। साथै वडा सदस्य लिलादेवी नेपाली, पाण्डेवारी निवासी रामचन्द्र पौडेल, चवादी निवासी तिलकुमारी लामिछाने, बाबुराम थापा लगायतले अक्षयकोष सहयोग गरेका थिए।
समारोहका अवसरमा विद्यालयको जग्गाधनी पूर्जा प्राप्त गर्न सहयोग गर्ने मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख, अक्षयकोषदाता तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिनुका साथै विद्यार्थीहरूबाट विविध सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतबहादुर महतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक कमलप्रसाद पौडेलले सञ्चालन गरेका थिए।
