चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक, कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’

Share:

 

काठमाडौं। चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन्। ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ।

निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्र छन्।

प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन्। तेज गिरी रिसाहा मुद्रामा छन्। रुसा न्यौपाने हेरिरहेकी छन्। बिमला लिम्बू पनि केही आश्चर्यमिश्रित भावमा छिन्। विकाश जोसी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ।

श्यामस्वेत पोस्टरमा चक्र र आगो देखिन्छ। पोस्टरले चलचित्रका पात्रहरू तनावमा रहेको देखाएको छ। कलरले निरश र तनावपूर्ण जिन्दगी संकेत गरिरहेको छ।

महाशिवरात्रिको छोको पारेर फागुन १ गते रिलिज हुने चलचित्र ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत-नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन्।आफ्नो ओजपूर्ण आवाजका लागि विश्वभर चर्चित खेरले नेपाली चलचित्र ‘शिवांश’मा समावेश ‘शिव ताण्डव स्तोत्रम्’ गायनको सन्दर्भमा यो सन्देश दिएका हुन्। उनले नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्।

“नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ भन्ने शब्द छैन,” खेरले भनेका छन्।

कैलाश खेरले आफ्नो आवाज रहेको चलचित्र ‘शिवांश’लाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन्। उनले भनेका छन्, “यस पटक केही विशेष छ। भारत-नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु।”

साथै, खेरले नेपाली दर्शक र श्रोताहरूबाट ‘शिवांश’ का लागि पहिले जस्तै माया र आशीर्वादको अपेक्षा गरेको बताएका छन्।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो। निर्मातामा अञ्जान केसी छन्।

प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्। सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूको छ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ। राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ। चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन्। मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन्।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्। सरद महतोको डीओपी रहेको चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन्।

चलचित्र चौतारीले पोस्ट प्रोडक्सन रहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: