
पोखरा। होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका अग्रणी होटल तथा रेष्टुरेन्ट व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ। क्लबको १२औँ वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पर्यटन तथा आतिथ्य क्षेत्रमा योगदान पुर्याउँदै रोजगारी सिर्जनामा उल्लेखनीय भूमिका खेलेको भन्दै पौडेललाई सम्मान गरिएको हो।
सम्मानित पौडेललाई नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल एक्जुकेटिभ क्लब पोखराका अध्यक्ष राजकुमार केसी तथा कार्यक्रम संयोजक तुलसी लामिछानेलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
लामो समयदेखि पोखराको पर्यटन व्यवसायमा सक्रिय पौडेलले पहिलोपटक रेष्टुरेन्ट व्यवसायबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका हुन्। चिल्ली बार एण्ड रेष्टुरेन्टबाट व्यवसाय आरम्भ गरेका उनले हाल ३६० स्काइ लाउञ्ज, हिमालयन ग्लोरी इन, हिमालयन गेस्ट हाउस, टेम्पल बेल बुटिक होटल एण्ड स्पालगायतका प्रतिष्ठान सञ्चालन गर्दै आएका छन् । व्यवसायिक यात्रामा उहाँलाई भाई भिष्म पौडेलले निरन्तर साथ दिँदै आएका छन्।
हाल रेवान पोखराका अध्यक्षसमेत रहनुभएका पौडेल विभिन्न सामाजिक संस्था तथा निजी क्षेत्रका संस्थामा संलग्न रही काम गरेको अनुभव छ। उनका व्यवसायमार्फत हाल करिब १३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यसअघि पनि क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिसोर्टका सञ्चालक हरी गैरे तथा टेम्पल ट्री रिसोर्टका सञ्चालक बसन्त गौतमलाई सम्मान गरिसकेको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पोखरा नेपालको पर्यटनका लागि सिकाइ केन्द्रको रूपमा स्थापित भएको बताए। उनले पोखराले पर्यटन विकास र प्रवर्द्धनका लागि अन्य स्थानभन्दा फरक र नवीन कार्यक्रम ल्याउँदै आएको उल्लेख गर्दै होटल एक्जुकेटिभ क्लब पनि त्यस्तै उदाहरण भएको बताए। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै पहल गरिरहेको जानकारी दिए।
त्यस्तै, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले पर्यटन क्षेत्रमा लगानी बढ्दो क्रममा रहेको बताउँदै नेपाली मौलिक आतिथ्य संस्कारलाई विदेशी पर्यटकसम्म पुर्याउन स्वागत–सत्कारको परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
सम्मान ग्रहण गर्दै व्यवसायी विश्वराज पौडेलले पोखरामा होटल तथा रेष्टुरेन्टको संख्या बढे पनि दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा देखिएको धारणा व्यक्त गरे। कार्यक्रममा टेम्पल ट्रीका सञ्चालक बसन्त गौतम, क्लबका अध्यक्ष राजकुमार केसी, संयोजक तुलसी लामिछाने, सञ्चालक माधव बराललगायत वक्ताहरूले सेवा गुणस्तरमा ध्यान दिँदै क्लबले पर्यटन क्षेत्रको विकासमा अग्रसर भूमिका खेल्नुपर्नेमा जोड दिए।
