प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीप्रसाद लम्साललाई, विष्णुप्रसाद सापकोटालाई सम्मान

Share:

पोखरा। प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना तथा सञ्चालन गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कार-२०८१ यस वर्ष वरिष्ठ पत्रकार रामजीप्रसाद लम्साललाई प्रदान गर्ने निर्णय गरेको छ। साथै, पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय योगदान पुर्‍याउँदै आएका विष्णुप्रसाद सापकोटालाई विशेष सम्मान गरिने भएको छ।

लम्साललाई पुरस्कार र सापकोटालाई सम्मान गर्ने सम्बन्धी प्रतिभा छनोट समितिको सिफारिसलाई प्रेस चौतारी नेपाल कास्कीको बिहीबार बसेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो। समितिको संयोजकत्व पूर्वपुरस्कृत तथा अग्रज पत्रकार श्यामनाथ कुँवरले गरेका थिए। समितिमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ, संगठनका अध्यक्ष मोतिसागर अधिकारी तथा सचिव अनुप पौडेल पदेन सदस्यका रूपमा रहेका थिए।

प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीका अनुसार आगामी माघ २२ गते, संस्थाको २८औँ स्थापना दिवसका अवसरमा दुवैलाई पुरस्कार तथा सम्मान अर्पण गरिनेछ। पत्रकारिता पुरस्कारको राशि २२ हजार २२२ रुपैयाँ रहेको छ।

पुरस्कृत हुन लागेका पत्रकार लम्साल हाल पोखरा महानगरपालिका-३३, भरतपोखरी (डाँडागाउँ) निवासी हुन्। उनी विगत २७ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्। लम्सालले २०५५ साल पुसमा ‘तालनगरी साप्ताहिक’बाट पत्रकारिता यात्रा सुरु गरेका थिए।

उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही र जनता टेलिभिजनमा काम गरेको अनुभव छ। हाल उनी पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन्।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रुसियन भाषा, उद्घोषण, भाषण कला तथा नेतृत्व विकास विषयका प्रशिक्षकसमेत हुन्। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट उनी २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकारका रूपमा सम्मानित भइसकेका छन्।

त्यसैगरी सम्मानित हुन लागेका पत्रकार सापकोटा मादी गाउँपालिका-४, तारकाब (साविक थुमाकोडाँडा गाविस-७) का स्थायी बासिन्दा हुन्। २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन्। सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा सक्रिय उनको सांगठनिक योगदान र सक्रियताको कदरस्वरूप सम्मान गर्न लागिएको हो।

सापकोटा प्रेस चौतारी नेपाल कास्कीका पूर्व कोषाध्यक्ष (२०६५-२०६७) समेत हुन्। उनी २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए भने २०७९ मा चलचित्र पत्रकार संघ नेपाल कास्कीबाट पनि सम्मानित भइसकेका छन्।

प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरुङ, मीना गुरुङ र गणेशमान गुरुङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ। त्यस्तै, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेलदेखि इन्द्रप्रसाद पौडेलसम्मका विशिष्ट पत्रकारहरू पुरस्कृत भइसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: