
पोखरा । पर्यटकीय नगरी पोखरामा स्थायी ल्यान्डफिल साइटको अभावका कारण फोहोर व्यवस्थापन चुनौती बन्दै गएको अवस्थामा पोखरा महानगरपालिका-१७, घारीपाटनस्थित शुभकामना आमासमूहले फोहोरलाई मोहरमा परिणत गर्ने अभियान सुरु गरेको छ।
आमासमूहले प्रत्येक घरमा एक/एक थान कम्पोष्ट बिन वितरण गर्दै कुहिने फोहोरको घरमै व्यवस्थापन गर्ने अभियान थालेको हो। यसअन्तर्गत समूहमा आबद्ध सदस्यहरूलाई करिब २ लाख ७२ हजार रुपैयाँ बराबरका १४७ थान कम्पोष्ट बिन निःशुल्क वितरण गरिएको छ।
कुहिने फोहोरलाई कम्पोष्ट प्रविधिबाट मलमा परिणत गरी कौसीखेती तथा बारीको तरकारी खेतीमा प्रयोग गर्न सकिने र यसले रासायनिक मलको विकल्प बन्ने विश्वास लिइएको आमासमूहकी अध्यक्ष पार्वती खड्काले जानकारी दिए।
“माटोको उर्वराशक्ति जोगाउने, मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने र वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो,” उनले भने, “घरबाट निस्कने फोहोरलाई समस्या होइन, सम्भावनाका रूपमा लिनुपर्छ भन्ने सन्देश दिन यो अभियान सुरु गरेका हौं।”
आमासमूहकी सचिव सिर्जना खनालका अनुसार एक थान कम्पोष्ट बिनको लागत १ हजार ८५० रुपैयाँ परेको छ। साथै, मल उत्पादन प्रक्रिया प्रभावकारी बनाउन समूहका सदस्यहरूलाई तालिमको समेत व्यवस्था गरिएको छ।
स्थानीय स्तरमा महिलाको सक्रियतामा सुरु भएको यस अभियानले फोहोर व्यवस्थापनमा देखिएको समस्यालाई समाधानतर्फ डो¥याउने अपेक्षा गरिएको छ।
वातावरणविद्हरूले यस्ता आमासमूहलाई स्थानीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेमा फोहोर व्यवस्थापनमा उल्लेखनीय सुधार आउने सामूहिक धारणा व्यक्त गरेका छन्।
