
पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी माध्यमिक विद्यालयले सहिद दिवसको अवसरमा बृहत् स्टिम प्रदर्शनी सम्पन्न गरेको छ। विद्यालयको वार्षिक कार्यतालिकाअनुसार आयोजित प्रदर्शनीमा विद्यार्थीहरू विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र सामाजिक विषयसँग सम्बन्धित विविध प्रोजेक्ट प्रस्तुत गर्दै अवलोकनकर्ताहरूको जिज्ञासा मेटाउन व्यस्त देखिन्थे। कोही विद्यार्थीहरू वैज्ञानिक अवधारणामा आधारित सामग्रीको व्याख्या गर्दै थिए भने कोही सामाजिक जनजीवन र समसामयिक विषयबारे आगन्तुकहरूलाई जानकारी गराइरहेका थिए।
कार्यक्रम तहगत रूपमा सञ्चालन गरिएको थियो। जसअन्तर्गत कक्षा १ देखि ४, कक्षा ५ देखि ८ तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएका थिए। निर्णायकहरूले प्रत्येक स्टलमा पुगेर विद्यार्थीहरूको प्रस्तुति र अवधारणाको मूल्याङ्कन गरेका थिए।
विज्ञान विषयअन्तर्गत श्रीकान्त सुवेदी, सन्दीप ढकाल, मनीष पौडेल र सबिना बन्जरा तथा सामाजिक विषयअन्तर्गत सूर्य गुरुङ र झलक सुवेदी निर्णायकको भूमिकामा रहेका थिए।
प्रदर्शनीमा विज्ञान विषयसँग सम्बन्धित ३८४ वटा र सामाजिक विषयसँग सम्बन्धित ११५ वटा प्रोजेक्ट राखिएका थिए। कार्यक्रम अवलोकन गर्न विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम आचार्य, गण्डकी प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य-सचिव मनकुमार श्रेष्ठ, प्रदेश सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत खेम पौडेल तथा नेवा मिसा पुचःका अध्यक्ष संगीता बज्राचार्यको विशेष उपस्थिति रहेको विद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।

