पोखरामा १० दिने उद्यमशीलता विकास प्रशिक्षक तालिम सम्पन्न

Share:

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहकार्य तथा पोखरा महानगरपालिका अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा सञ्चालन गरिएको १० दिने प्रशिक्षकहरूको उद्यमशीलता विकास तालिम (ToT) सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ असोज ४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको उक्त तालिममा विभिन्न क्षेत्रका २० जना सहभागी प्रशिक्षार्थी सहभागी थिए। तालिमका सम्पूर्ण चरण सफलतापूर्वक पूरा गर्ने सहभागीहरुलाई समापन समारोहका अवसरमा तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको थियो।

तालिमको मुख्य उद्देश्य उद्यमशीलता विकासका लागि दक्ष प्रशिक्षक उत्पादन गर्नु, युवाहरु तथा समुदायस्तरमा व्यवसायिक सीप विस्तार गर्नु र स्वरोजगार प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।समापन समारोह पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको अध्यक्षतामा तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले गरेका थिए । समारोहमा प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेल र निर्देशक ई. सुजन नेपालको समेत उपस्थिति रहेको थियो। तालिम अवधिभर उद्यम योजना निर्माण, बजार विश्लेषण, वित्तीय व्यवस्थापन, तालिम सञ्चालन विधि तथा व्यवसायिक परामर्श जस्ता महत्वपूर्ण विषयहरुमा व्यवहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमका विभिन्न सत्रहरुमा सुरेन्द्रबाबु तिवारी, लक्ष्मण तिमिल्सिना, मनोज पौडेल, प्रेमलाल लामिछाने, भिम विक, नारायण पौडेल, रामप्रसाद तिवारी, शिव ढुङ्गाना, सुवास मल्ल, डा. दिपेश रानाभाट, डा. देविलाल तिमिल्सिना, होमनाथ गैरे, कृष्णप्रसाद धिताल, भक्तराज रसाइली लगायत विषय विज्ञहरुले सहजीकरण गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले तालिमबाट गण्डकी प्रदेशमा उद्यमशीलता विकाससम्बन्धी दक्ष प्रशिक्षक उत्पादन भएको उल्लेख गर्दै यसले प्रदेशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सहभागीको तर्फबाट मन्तव्य राख्दै पुष्पराज कोइरालाले तालिमले सफल उद्यमी बन्न आवश्यक गुण, तालिम व्यवस्थापन तथा सञ्चालन विधि, तथा प्रभावकारी सिकाइका सिद्धान्तबारे गहिरो ज्ञान प्राप्त गर्न पाउँदा खुशी लागेको बताए।

आयोजक तथा प्रतिष्ठानका अनुसार यस्ता तालिमहरुले स्थानीय तहमा उद्यमशीलता प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: