
कायरो, कार्तिक १५ / इजिप्टको सिनाई प्रायद्विपमा २२४ जनाको ज्यान जानेगरि रसियन एयरलाइन्सको ए–थ्री २१ एअरबस विमान दुर्घटनाबारे अनुसन्धान शुरु भएको छ ।
दुर्घटनाग्रस्त विमानका दुईवटै ब्ल्याक बक्स फेला परेका छन् । इजिप्टका प्रधानमन्त्री इस्माइलले विमान आईएसले खसालेको दाबी अस्वीकार गर्दै प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने प्रवल सम्भावना देखिएको बताएका छन् ।
३१ हजार फिटको उचाईमा रहेको विमानलाई जमिनबाट मिसाइलले खसाल्न नसक्ने सुरक्षा विज्ञहरुले जनाएका छन् ।
दुर्घटना हुनु केही मिनेट अघि पाइलटले आपतकालीन अवस्थामा बिमान रहेको भन्दै आपतकालीन अवतरणका लागि अनुमति मागेको जानकारी गराएको इजिप्टका पारवहन मन्त्रीले जनाएका छन् ।
विमानको रुसी सहचालककी पत्नीले आफ्ना पतिले विमान उडाउनु अघि विमानको प्राविधिक अवस्थाबारे गुनासो गरेको बताएकी छन् । विमान दुर्घटनाबारे थप जानकारी नआएसम्म एअर फ्रान्स, लुफ्थान्सा र इमिरेट्स विमान सेवाले सिनाइ प्रायद्विप भएर विमान नउडाउने जनाएका छन् ।
रुसले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आज एकदिने शोकको घोषणा गरेको छ ।
इजिप्टको शार्म एल शेखबाट रुसी शहर सेन्ट पिटर्सवर्गका लागि उडेको विमान उडान भरेको २३ मिनेट मै हिजो दुर्घटनाग्रस्त भएको थियो ।
विमान दुर्घटनाको अनुसन्धानमा इजिप्ट, रुस र फ्रान्सका अनुसन्धानकर्ता जुटिरहेका छन् । विमानमा चालक दलका सात सदस्य र २१७ जना यात्रु सवार थिए ।
दुईवटा टुक्रामा उछिट्टिएर दुर्घटनाग्रस्त भएको विमानको एक भागमा आगो लागेको र अर्को चट्टानमा ठोक्किएको थियो ।
