
पोखरा। नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ अन्तर्गत रुपा गाउँपालिका वडा नं. ६ वरको डालीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्थापना गरिएको उक्त सम्पर्क कार्यालयले स्थानीय स्तरमा पार्टी गतिविधि, संगठन सुदृढीकरण तथा चुनावी प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।
सम्पर्क कार्यालयको उद्घाटन नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले मुलुकको स्थिरता, शान्ति, विकास र लोकतान्त्रिक स्थायित्वका लागि नेपाली काँग्रेसलाई विजयी बनाउनुपर्ने आवश्यकता औंल्याए।
कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले परिवर्तनको नेतृत्व गरेको नेपाली काँग्रेसले अब उन्नति, प्रगति र समुन्नतिको यात्राको पनि नेतृत्व गर्ने बताए। उनले जनताको भरोसामा आधारित राजनीति गर्दै समृद्धिको आधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाली काँग्रेस कास्कीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलका अनुसार पार्टी संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यका साथ सम्पर्क कार्यालय स्थापना गरिएको हो। यसैबीच क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले प्रचार–प्रसारलाई प्रभावकारी बनाउन सबै तहका नेता–कार्यकर्तालाई सक्रिय बनाइएको जानकारी दिए।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, वडा इकाइ सभापति बलराम गुरुङ, उपसभापति जुम्मेदिन मिया, सचिव टिकप्रसाद गुरुङ, युवा नेता गोपाल गुरुङलगायतले पार्टीलाई विजयी गराउन एकताबद्ध भएर लाग्न आह्वान गरेका थिए।
