
पोखरा । “युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद-नेपालको राष्ट्रिय खेल भलिबल” भन्ने मूल नारासहित नवौँ राइजिङ स्टार खुला वडास्तरीय भलिबल प्रतियोगिता बुधबारदेखि पोखरामा सुरु भएको छ।
पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीस्थित राइजिङ स्टार युथ क्लबको आयोजनामा माघ २१ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता भण्डारी टोलस्थित भलिबल कोर्टमा आयोजना गरिएको हो। प्रतियोगिताको उद्देश्य पोखरालाई खेलकुदमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै भलिबल खेलको विकास गर्नु रहेको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष तिलबहादुर गुरुङ (अनिल)को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा क्लबका आजीवन संरक्षक तथा पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले ब्यानरमा हस्ताक्षर गर्दै रेफ्री बुद्धसिंहलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।
सो अवसरमा वडा अध्यक्ष गुरुङले खेलाडीहरू अनुशासित भई खेललाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए। उनले प्रतियोगिता सफल पार्न वडाबाट तीन लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै आयोजकलाई शुभकामना व्यक्त गरे।
क्लबको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन भएको प्रतियोगितामा बोल्दै क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले स्थापना कालदेखि नै क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, युवा, खेलकुद, महिला तथा बालबालिका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे। उनले युवालक्षित लागूऔषध दुरुपयोगविरुद्ध सचेतना कार्यक्रमसँगै फुटबल, ब्याडमिन्टनलगायत विभिन्न खेलकुद गतिविधि हरेक वर्ष आयोजना हुँदै आएको जानकारी दिए।
उद्घाटन खेलमा आयोजक राइजिङ स्टार युथ क्लब र लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो। आयोजक टिमले पहिलो सेट २५–२२ र दोस्रो सेट पनि २५–२२ ले जित्दै उद्घाटन खेल आफ्नो पक्षमा पारेको थियो। प्रतिस्पर्धात्मक खेलहरू भने बिहीबार बिहानदेखि सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगिता संयोजक ईश्वर खत्रीका अनुसार प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ। विजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैयाँ, उपविजेता टिमले ५५ हजार ५५५ रुपैयाँ तथा तृतीय हुने दुई टिमले जनही १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ।
चार दिनसम्म चल्ने प्रतियोगितामा करिब आठ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रायोजक, सह-प्रायोजक र सहयोगी संघ-संस्थाबाट करिब १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको क्लबले जनाएको छ। प्रतियोगिताबाट बचत भएको रकम पुनः खेलकुद विकासमै खर्च गरिने क्लबको उद्देश्य रहेको छ। कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले गरेका थिए।
