
पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औँ स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ। बिहीबार आयोजित विशेष समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान-पत्र र दोसल्लासहित दुवै पत्रकारलाई सम्मान गरे। पुरस्कृत पत्रकार लम्साललाई सम्मान-पत्रसहित २२ हजार २ सय २२ रुपैयाँ नगद प्रदान गरिएको थियो।
सम्मानपछि बोल्दै सापकोटाले दुई दशकभन्दा लामो आफ्नो पत्रकारिताको यात्रालाई संगठनले स्मरण गरेकोमा खुशी व्यक्त गरे। उनले यस सम्मानले संगठनप्रतिको जिम्मेवारी थप बढेको महसुस भएको बताए। पुरस्कृत पत्रकार लम्सालले अनेक चुनौती र संघर्षबीच निरन्तर गरिरहेको पत्रकारिताको कर्मको मूल्यांकन भएको प्रतिक्रिया दिए।
विगतमा पनि पुरस्कार, पुस्तक विमोचन तथा हालको सम्मान एमाले नेता खगराज अधिकारीकै हातबाट प्राप्त गर्नु संयोगपूर्ण रहेको उनले बताए। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले देशको हित र लोकतन्त्रको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुनेमा जोड दिए।
सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेकोमा असन्तुष्टि जनाउँदै उनले सबै राजनीतिक दल र जनता एकताबद्ध भएर देश विकासमा अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। चौतारीले सम्मानित तथा पुरस्कृत व्यक्तित्व छनोट गर्न पूर्वपुरस्कृत तथा अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो। समितिमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य तथा संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य थिए।
पत्रकारितामा लामो योगदान
हाल पोखरा महानगरपालिका-३३ भरतपोखरी, डाँडागाउँ निवासी लम्साल विगत २७ वर्षदेखि पत्रकारितामा सक्रिय छन्। उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही र जनता टेलिभिजनमा काम गरेको अनुभव रहेका लम्साल हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा क्रियाशील छन्। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी रसियन भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकासका प्रशिक्षकसमेत हुन्। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट २०७९ सालमा उनलाई उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरिएको थियो।
यस्तै, सापकोटा मादी गाउँपालिका-४ तारकाब (साविक थुमाको डाँडा गाविस-७) का स्थायी बासिन्दा हुन्। २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन्। सञ्चारमाध्यमको व्यवस्थापकीय पक्षमा सक्रिय सापकोटा प्रेस चौतारी नेपाल कास्कीका पूर्व कोषाध्यक्ष (२०६५–२०६७) हुन्। उनी २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए भने चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा उनलाई सम्मान गरेको थियो।
प्रेस चौतारी कास्कीले यसअघि पनि राजु भण्डारी, सावित्री खनाल, हुम गुरुङ, मीना गुरुङ र गणेशमान गुरुङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ। प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेलदेखि हालसम्म विभिन्न अग्रज पत्रकारहरू पुरस्कृत भइसकेका छन्।
