पोखरामा बिटी कप जारी, राष्ट्रिय फुटसल खेलाडी सुबेत लामा सम्मानित

Share:

पोखरा। बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका-१ टुंडिखेलमा जारी नवौं विरेन स्मृति तथा १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार आयोजित कार्यक्रममा लामालाई सम्मान अर्पण गरिएको हो ।

राष्ट्रका लागि फुटसलमार्फत उल्लेखनीय योगदान दिएको कदरस्वरूप सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय स्तरका खेलाडीहरू प्रतियोगितामा सहभागी गराउनु नै बिटी कपको मुख्य उद्देश्य रहेको र यसले प्रतियोगिताको गरिमा थप उचो बनाएको बताए ।सम्मानित खेलाडी सुबेत लामा यस प्रतियोगितामा ठमेल एफसीको जर्सीबाट प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो चरणका ८ खेल सम्पन्न

शुक्रबार प्रतियोगिताको पहिलो चरण अन्तर्गत ८ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा मार्सल ह्वाइटले बेलिज् एफसीलाई २-० ले पराजित गर्‍यो । मार्सल ह्वाइटको जितमा नवीन पुन मगर र आकाश पुर्जामगरले एक/एक गोल गरे ।

दोस्रो खेलमा ठमेल एफसीले गलेश्वर एफसीलाई ५-० को फराकिलो अन्तरले हरायो । ठमेलको जितमा मनिष मगर, कुन्सान श्रेष्ठ, मिग्मार तामाङ, श्री माम्बा र विकेश शामहीले समान एक/एक गोल गरे ।

तेस्रो खेलमा गोल्डेन नाइटको अनुपस्थितिका कारण नवश्री वाकओभरमार्फत विजयी बन्यो । चौथो खेलमा बाँनिया ब्रदर्शले युनाइटेड ब्लुलाई ३-० ले पराजित गर्‍यो । बाँनियाको जितमा सुशान्त थापा, बादल रानाभाट र अनुप बञ्जराले गोल गरे ।

पाँचौं खेलमा डेभिजफल्स क्लबले रेवल्स एफसीलाई ४-० ले हरायो । डेभिजफल्सको जितमा रविन्द्र केसीले दुई गोल गर्दा संगम गुरुङ र सञ्जु मगरले एक/एक गोल थपे । छैटौं खेलमा एनए एफसीले माइलस्टोन स्कुकरलाई १-० ले पराजित गर्‍यो । एनएको जितमा सन्तोष चौधरीले निर्णायक गोल गरे ।

सातौं खेलमा दिप युनाइटेडले लेकसाइड एफसीलाई २-० ले पराजित गर्‍यो । दिपको जितमा लोकेन छन्त्याल र शोभित भण्डारीले गोल गरे । अन्तिम खेलमा कस्केरीको अनुपस्थितिका कारण एट टु नाइन एफसी वाकओभरमार्फत दोस्रो चरणमा प्रवेश गर्‍यो ।

क्लबका निवर्तमान अध्यक्ष असिम थापाका अनुसार प्रतियोगिताको बाँकी पहिलो चरणका खेलहरू शनिबार सञ्चालन हुनेछन् । प्रतियोगिताको विजेताले २ लाख २ सय २२ रुपैयाँ, उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई स्पोर्ट्स साइकल, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, अनुशासित टिमलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: