
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको नेपाली कांग्रेसले देशलाई व्याप्त भ्रष्टाचारको आहालबाट निकाल्ने दृढ संकल्प लिएको दावी गरेका छन् । सभापति निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका थापाले कास्की पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
देशको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार बनेको उल्लेख गर्दै सभापति थापाले त्यसकै कारण नागरिकहरू गहिरो रूपमा रिसाएको बताए । नियत ठीक भएका नेताले सही नीति बनाएर इमानदारीपूर्वक कार्यान्वयन गरे भ्रष्टाचार घट्ने र देश सुध्रिने उनको भनाइ थियो ।
‘जसरी विगतमा कांग्रेसले देशलाई हिंसाको आहालबाट निकालेको थियो, त्यसैगरी अब बदलिएको कांग्रेसले भ्रष्टाचारको आहालबाट पनि देशलाई निकाल्छ,’ उनले भने ।
नागरिकको चाहना देशलाई सम्हाल्ने र सुधार्ने शक्ति आउनु रहेको उल्लेख गर्दै थापाले कांग्रेस त्यही उद्देश्यसहित अघि बढेको स्पष्ट पारे ।
‘हामी देश सम्हाल्छौं, व्यवस्थालाई सुधार्छौं भनेर अघि बढेका छौं,’ उनले भने । सभापति थापाले नेपाली कांग्रेस पुरानो र नयाँ दुवै पार्टी भएको उल्लेख गर्दै घृणा र प्रतिशोधको राजनीति कांग्रेसको चरित्र नभएको बताए ।
‘देशमा मिलाउने र सम्हाल्ने शक्ति चाहिएको छ, त्यो शक्ति कांग्रेससँग मात्रै छ,’ उनले भने, ‘आगो लगाउन र उत्तेजनाको राजनीति गर्न धेरै सक्छन्, तर आगो निभाउने र उत्तेजना रोक्ने शक्ति भने कांग्रेस मात्रै हो ।’
उनले आगामी निर्वाचनलाई लक्षित गर्दै नेता तथा कार्यकर्तालाई एकढिक्का भएर चुनावमा होमिन निर्देशन दिए । साथै कांग्रेस छाडेर गएकाहरूलाई घर फर्किन आह्वान समेत गरे ।
राष्ट्रिय पार्टी हुने/नहुने फैसला जनताले मतमार्फत गर्ने भए पनि निर्वाचनमा हार्दैमा कांग्रेस राष्ट्रिय शक्ति हुन छोड्दैन भन्दै उनले कांग्रेसको भूमिका सरकार वा प्रतिपक्षमा सीमित नरहने बताए ।
‘राष्ट्रिय शक्तिको हैसियतमा कांग्रेसले देशमा अभिभावकीय भूमिका निर्वाह गर्छ, समस्या चिन्छ र समाधान गर्छ,’ उनले भने । सभापति थापाले भदौ २३ र २४ गतेको मिति मात्रै घोकेर नहुने भन्दै त्यसको गर्भमा लुकेको सन्देश बुझ्नुपर्नेमा जोड दिए ।
नागरिकहरू गहिरोसँग रिसाएको, राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास बढेकै कारण जेनजी आन्दोलन देखिएको उनको भनाइ थियो । नागरिकको रिस भित्रभित्रै आगोझैं बलिरहेको उल्लेख गर्दै थापाले त्यसलाई शान्त पार्दै अघि बढ्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको दावी गरे ।
‘गत भदौ २४ मा देश दन्कियो, अब अर्को भदौ २४ मा देश जल्न नदिने शक्ति कांग्रेस हो भन्ने सन्देश जनतामा पुर्याउनुपर्छ,’ उनले भने । देशलाई जल्न नदिने, सम्हालेर अघि बढाउने र नेपाललाई कुनै पनि प्रकारको हिंसा तथा उत्तेजनाको राजनीतिमा फस्न नदिने अठोट कांग्रेसले लिएको सभापति थापाको भनाइ थियो ।
