
पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीस्थित राईजिङ स्टार युथ क्लबको आयोजनामा भण्डारी टोलस्थित भलिबल कोर्टमा सञ्चालन भइरहेको नवौं राईजिङ स्टार खुला वडास्तरीय भलिवल प्रतियोगितामा आयोजक टिम फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न सेमिफाइनल खेलपछि आयोजक बी समूह फाइनलमा स्थान बनाएको हो । अब शनिबार हुने अर्को सेमिफाइनल खेलमा बागलुङ ढोरपाटन समूह र पर्वत मोदीको बाजुङ समूहबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेतासँग आयोजक बी समूहले उपाधिका लागि फाइनल खेल खेल्ने तय भएको प्रतियोगिता संयोजक ईश्वर खत्रीले जानकारी दिए ।
शुक्रबार प्रतियोगितामा विभिन्न आठ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष तिलबहादुर गुरुङ (अनिल)को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले गरेका थिए । शनिबार फाइनल खेल सम्पन्न भएलगत्तै प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
समापन समारोहमा क्लबका आजीवन संरक्षक तथा पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित भई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
१५ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता समूहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेता समूहले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा तृतीय हुने दुई समूहलाई जनही १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसका साथै उत्कृष्ट खेलाडीहरूलाई विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
