
पोखरा । पोखरा महानगरपालिकाले मुख्य सहरी क्षेत्रको संकलित फोहोर व्यवस्थापन गरिसकेको जनाएको छ। सडकमा फोहोर थुप्रिएको भन्दै बढिरहेका गुनासोबीच महानगरका मेयर धनराज आचार्यले सहरको मुख्य भागमा रहेको सम्पूर्ण फोहोर उठाइसकिएको जानकारी दिँदै अब छिट्टै फोहोर संकलन गाडी आउने नियमित समय तालिका सार्वजनिक गरिने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर आचार्यले महानगरपालिका फोहोर व्यवस्थापनका अल्पकालीन र दीर्घकालीन दुवै योजनामा निरन्तर क्रियाशील रहेको स्पष्ट पारे। उनले फोहोर संकलन गर्ने गाडी नआउँदासम्म घरमै फोहोर सुरक्षित रूपमा राख्न आग्रह गर्दै सडक, पेटी वा खुला स्थानमा फोहोर फालेर असहयोग नगर्न नगरवासीलाई अनुरोध गरे। सहरको स्वच्छता कायम राख्न नागरिकस्तरबाट पनि धैर्यता र सहयोग आवश्यक रहेको उनको भनाइ छ।
यसैबीच, पोखरा महानगरपालिकाले सेती नदीमा फोहोर बगाएको भन्ने आरोप तथा हल्लाहरूको मेयर आचार्यले कडा खण्डन गरेका छन्। उनले ती समाचारलाई आधारहीन र भ्रामक भन्दै यस्ता गलत सूचनाको पछि नलाग्न सबैमा आग्रह गरे। सेती नदीमा फोहोर फालिएको भन्ने आरोप अस्वीकार गर्दै उनले महानगरपालिका वातावरण संरक्षणप्रति संवेदनशील र प्रतिबद्ध रहेको दाबी गरे।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान सुरक्षाका कारण पुरानो बाच्छेबुडुवा ल्यान्डफिल साइट बन्द गरिँदा पोखरामा फोहोर व्यवस्थापन झन् पेचिलो बन्दै आएको छ। हालसम्म स्थायी ल्यान्डफिल साइटको टुंगो नलाग्दा र अस्थायी रूपमा प्रयोग भइरहेको लामेआहाल क्षेत्रमा पनि स्थानीय अवरोध तथा पूर्वाधार अभावका कारण बेला-बेला फोहोर संकलनमा समस्या आउने गरेको छ। स्थायी समाधानको अभावमा फोहोर नउठ्ने, सडक दुर्गन्धित हुने समस्या दोहोरिइरहेको पृष्ठभूमिमा मेयर आचार्यको यो पछिल्लो प्रतिबद्धताले नगरवासीमा केही आशा जगाएको छ।

