
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। राते काइँलाको उपनामले आमदर्शकका माझ चर्चित थापाको शनिबार बिहान मृत्यु भएको हो। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधनको पुष्टि गरे। केही समयदेखि शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका उनी नेपाली र भारतीय चलचित्र उद्योगमा लामो समयदेखि निरन्तर सक्रिय थिए।
थापाले नेपाली सिनेमामा खलनायकको भूमिकालाई नयाँ उचाइमा पुर्याएका थिए। उनले पर्दामा निभाउने नकारात्मक पात्रलाई पनि नायकसरह चर्चा र सम्मान दिलाउन सफल भए। विशेषगरी ‘राते काइँला’ को चरित्रले उनलाई घरघरमा चिनाएको थियो। उनी आफ्नो कडा स्वर र जीवन्त अभिनयका लागि चिनिन्थे।
उनका परिवारका अन्य सदस्यहरु भने हाल भारतको मुम्बईमा बस्छन्। थापाको आजै पशुपति आर्यघाटमा थापाको परिवार मुम्बईबाट आएलगत्तै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने कलाकार संघका सदस्य गोपाल ढकालले जानकारी दिए ।
थापाले थुप्रै सुपरहिट नेपाली चलचित्रका साथै बलिउडका चलचित्रहरुमा समेत काम गरेका थिए। उनको असामयिक निधनले कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। भारतीय चलचित्र क्षेत्रमा पनि उनको राम्रो पहिचान र पकड थियो।
