नवौं विरेन स्मृति तथा १९ औं बिटी कप फुटबल: पहिलो चरणका ८ खेल सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका-१ टुंडिखेलमा जारी नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता शनिबार रोमाञ्चक खेलसँगै अघि बढेको छ। बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो चरणका ८ खेल सम्पन्न भएका छन्।

क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार शनिबार सम्पन्न पहिलो खेलमा एन्जो ग्रुपले टुंडिखेललाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गर्‍यो।

दोस्रो खेलमा रामघाटले राइजिङ नेपाललाई २–१ गोल अन्तरले हरायो। रामघाटको जितमा सुदिन गुरुङले दुई गोल गर्दा राइजिङ नेपालका सन्तोष मगरले एक सान्त्वना गोल फर्काए।

तेस्रो खेलमा लिभिक एफसी अनुपस्थित भएपछि वाकओभरमार्फत तालपारी विजयी बन्यो। चौथो खेल बेस्ट ब्वाइज क्लब र भिमकाली क्लबबीच निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा बेस्ट ब्वाइज क्लबले ४–३ को जित निकाल्यो।

पाँचौं खेलमा स्याङ्जा युथ क्लबले फूलबारी क्लबलाई २–० गोल अन्तरले पराजित गर्‍यो। स्याङ्जाको जितमा समिर पुरीले दुवै गोल गरेका थिए।

छैटौं खेलमा लभ्ली ब्वाइजले एसटिबिएस एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो। लभ्ली ब्वाइजको जितमा स्वचन थापा, सविन थापा, अन्जन थापा र रोहित नेपालीले समान एक–एक गोल गरे भने एसटिबिएसका विवेक गुरुङले दुई गोल गरे।

यस्तै आयोजक बिटी टिम ‘बी’ र कल्याण बेसी, लमजुङबीचको सातौं खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा आयोजक टिमले ३–२ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिए।

शनिबारको अन्तिम खेलमा फायर पिज्जाले भाइब्रेन्टलाई ४–१ गोल अन्तरले पराजित गर्‍यो। फायर पिज्जाको जितमा मनिष ठकुरीले ह्याट्रिक पूरा गर्दा सुवास गुरुङले एक गोल थपे। भाइब्रेन्टका लागि खगेन्द्र पुनले एक सान्त्वना गोल गरे।

क्लबकी सल्लाहकार विनिता गुरुङका अनुसार आइतबार बिहान ८ बजेदेखि पुनः पहिलो चरणका खेलहरू सञ्चालन हुनेछन्। आइतबारको पहिलो खेल सम्झना क्लब नयाँगल्ली र दीप युनाइटेडबीच हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख २ सय २२ रुपैयाँ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए।

विधागत पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: