
पोखरा। पोखराको आर्थिक, सामाजिक र शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको पोखरा उद्योग वाणिज्य संघ (पीसीसीआई) ७२औँ वर्षमा प्रवेश गरेको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते स्वर्गीय अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखराका उद्योगी-व्यवसायीले पोखरा व्यापार संघको स्थापना गरेका थिए । यद्यपि संघ २०११ सालमा विधिवत् रूपमा स्थापना भए पनि २००८ सालतिरै पोखराका व्यापारीहरू एकजुट भइसकेका थिए र तदर्थ समिति गठन भइसकेको थियो । स्थापना पश्चात् तत्कालीन पोखरा व्यापार संघ यहाँको जेठो सामाजिक संस्थाका रूपमा स्थापित भएको थियो ।
संघकै अग्रसरतामा पोखरामा बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पस, दर्जनौँ शैक्षिक संस्था, पोखरा विश्वविद्यालयको स्थापना, साथै पृथ्वीनारायण क्याम्पसमा वाणिज्य र अर्थशास्त्र शिक्षाको थालनी भएको वर्तमान अध्यक्ष गोकर्ण कार्कीले बताए । उनका अनुसार महेन्द्रपुलदेखि काहुँको धरहरा, पोखरा सभागृहलगायतका महत्वपूर्ण भौतिक संरचना निर्माणमा पनि संघले नेतृत्वदायी भूमिका खेलेको थियो ।
पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरका रूपमा विकास गर्नुपर्ने अवधारणा पहिलोपटक यही संघबाट मुखरित भएको उल्लेख गर्दै अध्यक्ष कार्कीले २०३१ सालमा पोखरा औद्योगिक क्षेत्र स्थापना भएपछि संघ पोखरा उद्योग वाणिज्य संघका रूपमा रूपान्तरण भएको जानकारी दिए । हाल संघमा करिब ३ हजार साधारण सदस्य आबद्ध छन् । निजी क्षेत्रको हक-अधिकारको संरक्षण, खुला अर्थतन्त्रको प्रवद्र्धन र उद्योग–व्यवसायमैत्री वातावरण निर्माणमा संघ निरन्तर क्रियाशील रहेको अध्यक्ष कार्कीको भनाइ छ ।
“पोखराले सहरको स्वरूप लिनुअघि नै यो संस्था जन्मिएको हो । संस्थापक अध्यक्ष नै मुस्ताङमा जन्मेर पोखरालाई कर्मक्षेत्र बनाउनुभएका स्वर्गीय अमृतप्रसाद शेरचन हुनुहुन्छ,” अध्यक्ष कार्की भन्छन्, “यसले संघको समावेशी चरित्र पुष्टि गर्छ । पोखरालाई देशभरका उद्योगी–व्यवसायीको आकर्षण केन्द्र बनाउने हाम्रो लक्ष्य हो ।”
संघको ७२औँ स्थापना दिवसका अवसरमा आइतबार पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनमा झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचन, वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।
संघका उद्योग उपाध्यक्ष दिनेन्द्रचन्द्र बास्तोलाका अनुसार चुनावी आचारसंहिताका कारण वार्षिकोत्सवका केही औपचारिक कार्यक्रम भने हाललाई स्थगित गरिएको छ । यसै अवसरमा संघसँग भगिनी सम्बन्ध रहेको भक्तपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएको छ । महासचिव गौतमका अनुसार कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका-ताङतिङमा आयोजित कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपाने, पूर्वअध्यक्ष तथा सल्लाहकार शिवप्रसाद मानन्धर, निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जालगायतको प्रतिनिधिमण्डललाई सम्मान गरिएको हो ।
उक्त अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, पूर्वअध्यक्षहरू राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठ, विश्वशंकर पालिखेसहित पदाधिकारी र कार्यसमिति सदस्यहरूले बधाई ज्ञापन गरेका थिए । सांस्कृतिक सहर भक्तपुरसँगको भगिनी सम्बन्धमार्फत् पोखराको पर्यटन प्रवद्र्धन, संस्कृति र सीपको आदान-प्रदान गर्दै पर्यटकीय गतिविधि विस्तार गर्ने लक्ष्य पोखरा उद्योग वाणिज्य संघले लिएको छ ।

