बिटी कपमा रामघाटको सँघर्षपूर्ण जित, मंगलबारदेखि प्रिक्वाटरफाइलनका खेल हुने

Share:

पोखरा । पोखरा महानगरपालिका-१ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति तथा १९औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ मंगलबारदेखि थप रोमाञ्चक बन्दै प्रिक्वाटरफाइनल चरणमा प्रवेश गरेको छ।

बुद्धटोल युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार दोस्रो चरणका सबै खेलहरू सम्पन्न भएको खेल संयोजक निकेश गुरुङले जानकारी दिए। उनका अनुसार सोमबार सम्पन्न खेलहरूले प्रतियोगिताको प्रतिस्पर्धा अझ तीव्र बनाएको छ।

सोमबार भएको पहिलो खेलमा डेभिजफल्स एफसीले रामघाट रेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो। डेभिजफल्सको जितमा रविन्द्र केसीले निर्णायक गोल गरे।

त्यस्तै दोस्रो खेलमा लभ्ली ब्वाइज हेमजाले मुस्ताङ युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्‍यो। लभ्ली ब्वाइजको जितमा सविन थापा र रोहित नेपालीले एक/एक गोलको योगदान दिए। तेस्रो खेलमा लामागाउँ गुम्बाले कमलपोखरी एफसीमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। उक्त खेलमा सरोज तामाङले निर्णायक गोल गरे।

चौथो खेलमा स्याङ्जा युथ क्लबले सुजन डल्ला एफसीलाई ३–१ गोल अन्तरले हराउँदै आफ्नो दबदबा कायम राख्यो। स्याङ्जाका लागि राजेश राजपाल र समिर पुरीले गोल गरे भने डल्ला एफसीका तर्फबाट प्रसन्न श्रेष्ठले सान्त्वना गोल फर्काए।

एनएसवाइसी पुरुन्चौर र एन्जो ग्रुपबीचको पाँचौँ खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुरुन्चौरले २–१ को जित निकाल्दै प्रिक्वाटरफाइनलमा प्रवेश गर्‍यो।

दिनको अन्तिम खेल भने दर्शकका लागि निकै रोमाञ्चक बन्यो। मिक्की एफसी र रामघाट ह्वाइटबीचको खेलमा १४औं मिनेटमा रामघाटका सुदेश गुरुङले पहिलो गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफको २१औं मिनेटमा मिक्की एफसीका अमिर गुरुङले बराबरी गोल फर्काए।

खेलको क्रममा रामघाटका डिफेण्डर निशान श्रेष्ठ रातो कार्ड पाएपछि रामघाट ६ खेलाडीमा सीमित भयो। तर संख्यात्मक लाभ उठाउन नसकेको मिक्की एफसीका लागि त्यो महँगो सावित भयो। खेलको २९औं मिनेटमा पुनः सुदेश गुरुङले गोल गर्दै रामघाट ह्वाइटलाई २–१ को जित दिलाए।

यस जितसँगै रामघाट ह्वाइट प्रिक्वाटरफाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। उनका अनुसार मंगलबार प्रतियोगिताअन्तर्गत प्रिक्वाटरफाइनलका ८ खेलहरू आयोजना हुनेछन्।प्रतियोगिताको विजेताले २ लाख २ सय २२ रुपैयाँ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: