
पोखरा। पोखरा महानगरपालिका-१७ स्थित जानकी माध्यमिक विद्यालयमा स्थानीय जागरण आमा समूहले अक्षयकोष स्थापना गरेको छ। विद्यालयको ४८औँ वार्षिकोत्सवको अवसर पारेर आमा समूहले ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो।
नेपालीहरूको प्रमुख चाड तिहारमा खेलिएको भैलो तथा टोलछिमेकमा आयोजना गरिएका सांस्कृतिक कार्यक्रममार्फत संकलित रकमबाट विद्यालयका जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको समूहकी निवर्तमान अध्यक्ष शोभा भण्डारीले जानकारी दिइन्।
वार्षिकोत्सव समारोहका क्रममा आमा समूहका पदाधिकारी तथा सदस्यहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई उक्त रकम बराबरको चेक सामूहिक रूपमा हस्तान्तरण गरेका थिए। यसै समूहले यसअघि सिताघाट बाटो निर्माण समितिलाई २० हजार ५५ रुपैयाँ सहयोग गरेको पनि जनाइएको छ।
अक्षयकोषको चेक ग्रहण गर्दै अध्यक्ष बास्तोलाले सामुदायिक विद्यालयको सुधार केवल सरकारको मात्र दायित्व नभई समाजको साझा जिम्मेवारी भएको उल्लेख गरे। जागरण आमा समूहको योगदान सबैका लागि प्रेरणादायी भएको बताउँदै उनले यस्ता पहलले विद्यालयप्रति समुदायको अपनत्व बढाउने विश्वास व्यक्त गरे।
उनले सामुदायिक विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरू दैनिक जीवनका संघर्षसँग जुध्दै पढ्न बाध्य रहेको उल्लेख गर्दै कसैका लागि किताब किन्न कठिन हुने र कसैका लागि विद्यालय पुग्नु नै चुनौती हुने अवस्थाबीच अक्षयकोष तथा छात्रवृत्तिले पढाइलाई निरन्तरता दिने साहस र आत्मविश्वास थप्ने बताए।
विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलका अनुसार हालसम्म आमा समूहसहित विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तिहरूको सहयोगमा विद्यालयमा १५ लाख ३८ हजार ९३५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना भइसकेको छ।
यसअघि पोखरा-१७ का वडा सदस्य शिवराम भण्डारीले आफूले प्राप्त गरेको एक वर्षको सेवा सुविधामा केही रकम थप गरी दिवंगत धर्मदत्त तथा जमुना देवी भण्डारीको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। त्यस्तै, दुर्गा–नरहरी, कोमलनारायण–लक्ष्मी, चूडामणि–पार्वती, चूडामणि धर्मकुमारी चालिसे, धनञ्जय–नारायणी, शिवेन्द्र–सीता, गप्तेश्वर गुफा, सितापाइला आमा समूह, विक्रम भण्डारी (छोराको नाममा), नगेन्द्र–लक्ष्मी शर्मा, गोमा पराजुली तथा बाटुली अक्षयकोषलगायत विभिन्न दाताबाट उल्लेख्य योगदान प्राप्त भएको प्रधानाध्यापक कँडेलले जानकारी दिए।
बैंकको ब्याजदर घट्दो क्रममा रहेकाले अक्षयकोषबाट प्राप्त हुने ब्याज सीमित हुँदा सम्पूर्ण कोषलाई एकीकृत गरी आवश्यकता अनुसार विद्यार्थीको शिक्षा क्षेत्रमा लगानी गर्ने योजना विद्यालयले बनाएको जनाएको छ।
