
पोखरा । पोखरा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ।अभियान अन्तर्गत फागुन ५ गतेसम्म कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइँदैछ। महानगरपालिकाका जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालका अनुसार, अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा ११ देखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई समेत खोप प्रदान गरिनेछ।
अभियान सफल बनाउन महानगरपालिकाले १५७ जना स्वास्थ्यकर्मी र १५७ जना स्वयंसेवक परिचालन गरेको छ। कक्षा ६ मा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमै खोप लगाइनेछ भने अन्य किशोरीलाई महानगरपालिका मातहतका खोप केन्द्रबाट सेवा प्रदान गरिने जनाइएको छ। अभियान अवधिभर पोखराका २७६ विद्यालयका ४ हजार ८०६ जना कक्षा ६ की छात्रा, विद्यालय बाहिर रहेका ११० जना किशोरी, तथा अघिल्लो वर्ष छुटेका ११७ जना छात्रा गरी कुल ५ हजार ३३ जना किशोरीलाई एचपिभी खोप लगाइने लक्ष्य रहेको छ।
एचपिभी संक्रमण नै मुख्य कारण
जनस्वास्थ्य अधिकृत लम्सालका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण भएकाले त्यसबाट बच्न एचपिभी खोप अत्यन्त आवश्यक छ। नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको उल्लेख गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लक्षित सबै किशोरीलाई खोप अभियानमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । क्यान्सरका कारण महिलाको मृत्यु हुनेमा भने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको तथ्यांकले देखाएको उनले बताए ।
चिकित्सकहरूका अनुसार एचपिभी खोप शतप्रतिशत प्रभावकारी रहेको छ। नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र तीमध्ये चार जनाको ज्यान जाने गरेको तथ्यांक रहे पनि समयमै एचपिभी खोप लगाएमा यो क्यान्सरबाट बच्न सकिने चिकित्सकहरूको भनाइ छ।



