
पोखरा । पोखरा महानगरपालिका-४ स्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा तहगत रुपमा कथा वाचन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि जागृत गराउने र उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले जानकारी दिए।
आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो चरणको प्रतियोगितामा कक्षा ७ (क) की आयुषा गुरुङ प्रथम भइन्। कक्षा ८ (क) का एशव परियार र कक्षा ६ (ग) की रविना महतरा द्वितीय भए भने कक्षा ७ (ख) की उपासना कार्की तृतीय र कक्षा ७ (क) की अनुश्री पौडेल चौँथो स्थान हासिल गर्न सफल भइन्।
प्रतियोगितामा शिक्षकहरू श्रवणकुमार तिमिल्सिना र सुस्मा आमात्य निर्णायक रहेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षिका मुना देवकोटाले गरेकी थिइन् ।
त्यसैगरी माध्यमिक तह (कक्षा ९-१२) को कथा वाचन प्रतियोगिता सह-प्राचार्य मुकेशकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। उक्त प्रतियोगितामा कक्षा १० (ख) का सक्षम गैह्रे प्रथम भए। कक्षा ९ (ग) का अरङ कार्की र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी द्वितीय घोषित भए भने कक्षा १० (ग) का प्रतिक पौडेल तृतीय र कक्षा ११ विज्ञान संकायका सन्दिप अधिकारी चौँथो भए।
कार्यक्रममा शिक्षकहरू अनुपमणि अधिकारी, उमा पोख्रेल र अभिशेक विश्वकर्मा निर्णायकको भूमिकामा रहेको थियो। शिक्षकहरू भुवन गुरुङ र सावित्रा चालिसेको प्राविधिक सहयोग तथा सुरेन्द्र सदिच्छाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।विद्यालयले यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा साहित्यप्रतिको लगाव बढ्ने विश्वास व्यक्त गरेको छ।
