
रञ्जन अधिकारी पोखरा, २० कार्तिक / नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट गंगाधर पराजुली पुरस्कृत भएका छन् । पोखरामा शुक्रबार आयोजित एक समारोहकाबीच नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, प्रचार विभाग प्रमु्ख डा. मिनेन्द्र रिजाल, प्रेस युनियन कास्की अध्यक्ष शिरोमणि बराल लगायतले ३५ हजार पाँच सय ५५ रुपैयाँ नगद सहित सम्मानपत्र र दोसल्ला ओढाई पराजुलीलाई सम्मान गरे । सो अवसरमा ९० वर्षीया माता कलावती पराजुली र पत्नी शुशिला पराजुलीलाई पनि सम्मान गरियो ।
यस्तै, युनियन कास्कीले सञ्चार क्षेत्रको लोकतान्त्रिकरणमा योगदान पु¥याएको भन्दै पूर्व सूचना तथा सञ्चार मन्त्री रिजाल र राष्ट्रिय स्तरको सञ्चार उद्यमी भएर योगदान पु¥याएकोमा सगरमाथा टेलिभिजनका निर्मल गुरुङलाई सम्मानपत्र प्रदान ग¥यो । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट पहिलो पुरस्कार पराजुलीलाई प्रदान गरेको हो । सम्मानित व्यक्तित्व पराजुलीले सम्मानबाट आफू गौरवान्वित भएको र थप जिम्मेवारीबोध भएको बताए ।
प्रतिभा छनौट समितिका संयोजक बनेका युनियन कास्कीका सल्लाहकार रविन्द्र बाँस्तोलाले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श अनुरुप न्यूनतम् १५ वर्ष पत्रकारिता गरेको र युनियनको सुदृढिकरणमा योगदान दिएको पत्रकारलाई उक्त पुरस्कार दिने व्यवस्था बमोजिम पराजुली नै योग्य व्यक्ति भएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय प्रचार विभागका सदस्य राजबहादुर गुरुङले पुरस्कृत व्यक्तित्व पराजुलीको परिचय दिएका थिए । पराजुलीले पोखरामा रहेर झण्डै साढे दुई दशक पत्रकारिता क्षेत्रमा बिताएका छन्। हाल राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य रहेका पराजुली पोखराबाट प्रकाशन हुने गोल्डेन न्यूज दैनिकका अध्यक्ष एवं प्रधान सम्पादक तथा सुनौलो एफएमका कार्यकारी निर्देशक समेत हुन् । गोरखापत्र दैनिकमा २०४९ सालमा संलग्न भएपछि पत्रकारितालाई नै आफ्नो पेशा बनाएका पराजुलीसंग कान्तिपुर दैनिक, नेपाल टेलिभिजन लगायतका राष्ट्रिय संचारमाध्यमका साथै पोखरा स्थित विभिन्न छापा तथा विद्युतीय संचारमाध्यममा काम गरेको अनुभव छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापतिका साथै नेपाल प्रेस युनियनको केन्द्रीय समितिको प्रथम उपाध्यक्ष सहित विभिन्न पदमा रहेर लामो समय पत्रकारिताको राजनीतिमा क्रियाशील पराजुलीले युनियनको कास्की शाखाको स्थापनाकालदेखि तीन कार्यकालसम्म अध्यक्ष रहेर काम गरेका थिए ।
सो अवसरमा पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान पनि गरेको थियो । कोषमा हालसम्म करिब १५ लाख रुपैयाँ संकलन भैसकेको छ । कोषबाट प्राप्त व्याजबाट हरेक दुई वर्षमा पत्रकारहरुलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको छ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक परिवर्तनमा पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्दै पुरस्कृत व्यक्तित्व पराजुलीलाई बधाई दिए । प्रचार विभाग प्रमुख रिजालले पत्रकार पराजुलीलाई धन्यवाद दिँदै आफुलाई पनि सम्मान गरेकोमा आभार व्यक्त गरे ।
नेपाली काँग्रेसकी सांसद शारदा पौडेलले जन्मैदेखि काँग्रेस भएर जन्मेका पराजुली पत्रकारितामा अग्रणी क्षेत्र ओगट्न सफल भएको भन्दै सम्मानित भएकोमा बधाई ज्ञापन गरिन् । उनले काँग्रेसको नेतृत्व नभई अब मुलुकले निकाश नपाउने दाबी गर्दै अन्य दलले समस्या समाधान गर्न नसक्ने बताई ।
नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले वरिष्ठ नेताको आतिथ्यतामा पूर्व सञ्चारमन्त्री समेतलाई उपस्थित गराई यसरी कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे । अहिले मुलुक ठुलो संकटमा रहेको भन्दै उनले चुनावमा पहिलो भएर पनि काँग्रेस प्रतिपक्षमा बस्न पुग्नु राम्रो नभएको बताए । काँग्रेस चुक्यो भने मुलुक दुर्घटनामा पर्ने भएकाले काँग्रेसले गरेका गल्तीहरुको परिमार्जन गर्दै ठूलो दलको जिम्मेवारी बोक्नुपर्नेमा उनको जोड थियो ।
नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष केशव निरौलाले लोकतान्त्रिक मुल्यको संकटमा खरो उत्रिएको काँग्रेसले अब मुलुकमा देखिएको संकट अन्त्य गर्न पनि नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।
प्रेस काउन्सिलका पूर्व सदस्य माधव शर्माले भारतीय नाकाबन्दीले मुलुक अस्तव्यस्त भईरहेकोबारे वरिष्ठ नेता देउवालाई महसुस भएकै होला भन्दै भारतीय सरकार पक्ष र विपक्षका सबैसँग राम्रो सम्बन्ध रहेकाले यसबारे देउवालाई बुझाउन मञ्चबाटै आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अघोषित नाकाबन्दीले उद्योग, व्यवसाय चौपट भएकाले काँग्रेस जिम्मेवार भएर मुलुकलाई निकास दिन अनुरोध गरे । सम्मानित व्यक्तित्व सञ्चार उद्यमी निर्मल गुरुङले आफु कास्कीकै छोरो भएको भन्दै काठमाण्डौंमा सञ्चार व्यवसाय गरेर केहि हदसम्म रोजगारी प्रदान गर्न सकेको बताए । एमाओवादी कास्कीका अध्यक्ष दीपक कोईरालाले पत्रकार पराजुलीको सम्मान समारोहमा सहभागिताका लागि उपस्थित भएको बताउँदै पराजुलीलाई बधाई दिए ।
प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाशचन्द्र सापकोटाले गरेका थिए भने उपाध्यक्ष माधव रेग्मीले स्वागत गरेका थिए ।
