मादीमा पार्टीभन्दा विकास प्राथमिकता : कांग्रेस उम्मेदवार तिलक रानाभाट

Share:

पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार तिलक रानाभाटले मादी गाउँपालिकामा पार्टीगत स्वार्थभन्दा विकासको आवश्यकता बढी रहेको बताएका छन्। घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटघाटका क्रममा उनले आफूलाई “मादी पुत्र”का रूपमा प्रस्तुत गर्दै क्षेत्रको समग्र र दिगो विकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

रानाभाटले स्थानीय स्रोत-साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर गाउँ निर्माण गर्नुपर्नेमा जोड दिँदै कृषक केन्द्रित आयआर्जन अभिवृद्धि कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए। सडक पहुँच विस्तार, कृषि आधुनिकीकरण, बाख्रापालन, माहुरीपालन र जडीबुटी उत्पादनमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ गर्न सकिने उनको भनाइ थियो।

“गाउँको विकास बिना देशको विकास सम्भव छैन,” उनले भने, “स्थानीय अधिकार र प्राकृतिक स्रोतको उपयोग स्थानीयकै हितमा हुनुपर्छ।” उनले महिला सशक्तीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, व्यावसायिक शिक्षा र व्यवसायमुखी कृषिलाई क्षेत्रीय विकासका आधार स्तम्भका रूपमा अघि सारे।

कार्यक्रममा बोल्दै पूर्व सांसद तथा पूर्व कानुनमन्त्री यज्ञ बहादुर थापाले समय र परिवेशअनुसार राजनीतिक सोच र कार्यशैली परिवर्तन हुनुपर्ने धारणा राखे। उनले नेपाल गाउँ-गाउँ मिलेर बनेको देश भएकाले ग्रामीण क्षेत्रको जीवनस्तर उकास्न नसकेसम्म राष्ट्रिय विकास सम्भव नहुने बताए। विगतका राजनीतिक उतारचढावबाट सिक्दै अब विकासमुखी राजनीतिक अभ्यास आवश्यक रहेको उनको भनाइ थियो।

ने.का. मादी-१० का वडा सभापति ऋषिराम सुवेदीले मादीका दीर्घकालीन समस्या समाधानका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताए। मकैखोला, थुम्सीकोट र भगवतीटारलगायतका बस्तीमा आधारभूत पूर्वाधार, ज्ञान–सीप विकास र रोजगारी सृजनामा विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे।

स्थानीय प्रतिनिधि तथा सरोकारवालाले पनि आफ्ना अपेक्षा राख्दै बसाइँसराइ नियन्त्रण, सडक स्तरोन्नति, सिँचाइ व्यवस्थापन, लोकमार्ग निर्माण, महिला आयआर्जनका अवसर विस्तार र स्थानीय उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा वडा सदस्य कृष्णबहादुर गुरुङ, इकाइ सभापति लोकप्रसाद गुरुङ, आमा समूहका प्रतिनिधि, भ्रातृ संगठनका सदस्य तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। थुम्सीकोट, मकैखोला, भगवतीटार लगायतका बस्तीमा घरदैलो अभियान सञ्चालन गरिएको र मादी-८, ९, १० र ११ नम्बर वडामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

नेताहरूले विकास, सुशासन र समावेशी सहभागितामार्फत मादीलाई उदाहरणीय गाउँ बनाउने प्रतिबद्धता जनाउँदै फागुन २१ गते हुने संघीय निर्वाचनमा तिलक रानाभाटलाई विजयी गराउन अपिल गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: